काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ ।
बिहिबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ । दिल्लीमा हुने घरेलु टोली हैदरावादबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
फिरोज कोट्ला स्टेडियममा दिल्ली र हैदरावादबीचको खेलमा मुख्य दुई खेलाडी सबैको नजरमा पर्ने छन् । दिल्लीका सन्दीप र हैदरावादका राशिद खान बिहिबारको खेलको केन्द्रमा रहने छन् ।
सन्दीप र राशिद दुवै खेलाडी स्पिन बलर हुन् । दुवै बलर छोटो समयमा चर्चा कमाउन सफल भए ।
सन्दीप भर्सेस राशिद
अफगानिस्तानका बलर राशिद सन्दीपभन्दा २ बर्ष जेठो छन् । सन्दीपले सन् २०१८ मा आईपीएल डेब्यु गरेका थिए भने राशिदले सन् २०१७ को सिजनमा डेब्यु गरेका थिए ।
सन्दीपले आईपीएलमा डेब्यु गर्दा १७ वर्षका थिए । राशिद भने १८ वर्ष पुगेका थिए । तर, संयोग भनौ, दुवै खेलाडीले आईपीएलमा डेब्यु गरेपछि मात्र विश्वको अन्य फ्रेन्चाइज लिगमा पाईला चाल्न सफल भएका थिए ।
पछिल्लो समय यी दुवै खेलाडीलाई धेरै क्रिकेट पण्डितहरुले तुलना गर्ने गरेका छन् । दुवै खेलाडी गुगली र छिटो बल फाल्ने बलिङ शैलीले परिचित छन् ।
सन्दीप अझै उदाउँदो खेलाडीको रुपमा रहेका छन् । राशिद परिपक्क भईसकेका छन् । राशिदले युवा अवस्थामा नै धेरै रेकर्ड आफ्नो नाममा लेखाईसकेका छन् ।
यस सिजन ३ खेलमा राशिदले २ विकेट हात पारेका छन् । तर, सन्दीपले २ खेलमा ३ विकेट लिन सफल भईसकेका छन् ।
सन्दीपले आईपीएलको कुल ५ खेल खेल्दा ८ विकेट लिएका छन् । राशिदले ३४ खेलमा ४० विकेट चट्काईसकेका छन् ।
सन् २०१५ मा टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका राशिदले हालसम्म १५७ खेलमा २३९ विकेट लिएका छन् । गत सिजनको आईपीएलबाट टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीपले ३८ खेलमा ४८ विकेट लिएका छन् ।
तर, सन्दीपको कमजोरी उनि बलिङमा मात्र सिमित रहेका छन् । जसको कारण राशिदले भन्दा कम अवसर पाउने गरेका छन् ।
राशिद भने चाहिएको अवस्थामा उत्कृष्ट ब्याटिङ समेत गर्ने गर्छन ।