काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले रेफ्रीको खराब निर्णयले ओलम्पिक छनोटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा पराजित भएको बताएकी छिन् ।
म्यानमारमा बुधबार सुरु छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
म्यानमारसंग पराजित भएपछि बोल्दै स्ट्राइकर सावित्राले नेपालले उत्कृष्ट खेलेको तर रेफ्रीको गलत निर्णयको शिकार भएको बताईन् ।
‘हामीले धेरै राम्रो खेल्यौ । तर, रेफ्रीको खराब निर्णयहरु भयो । त्यसैले हामी हार्यौ ।’ खेलपछि सावित्राले भनिन् ।
म्यानमारलाई जित दिलाउन विन थिंगी तुनले दुई गोल गरिन् । यस्तै यी ओले एक गोल गरे । म्यानमारले गरेको गोलमा एक गोल पेनाल्टी रहेको थियो ।
म्यानमारविरुद्ध नेपालका कप्तान निरु थापाले एक गोल फर्काएकी थिईन् ।
यस्तै सावित्राले म्यानमार धेरै बलियो टोली भएको भएपनि नेपालले कडा टक्कर दिएको बताईन् ।
‘म्यानमार धेरै बलियो टिम हो । हामी सबैले राम्रो खेलको हो,’ सावित्राले भनिन्, 'बाँकी खेलमा हामी राम्रो गर्ने छौं । कडा मेहेनत गर्ने छौं ।'
प्रतियोगिताको दोस्रो खेलमा नेपालले शनिबार भारतसँग खेल्नेछ । यस्तै समूहको अन्तिम खेलमा नेपालले इन्डोनेसियासंग खेल्नेछ ।
छनोटको दोस्रो चरणमा पहिलो खेल सकिदा म्यानमार र भारतले ३/३ अंक जोडेको छ । नेपाल र इन्डोनेसियाले अंक जोड्न सकेको छैन ।
भारतले पहिलो खेलमा इन्डोनेसियालाई २-० ले हराएको थियो ।
म्यानमार मै कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।