एजेन्सी । इंग्लिश क्लब टोटेनहमले नयाँ रंगशाला 'ह्वाइट हर्ट लेन' को उद्घाटन गरेको छ । टोटेनहमले बुधबार राति एक समारोहकाबीच नयाँ रंगशालाको उद्घाटन गरेको हो ।
निकै आधुनिक र उच्च प्रविधिबाट निर्माण गरिएको नयाँ रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो । टोटेनहमले यस रंगशाला निर्माणका लागि १ बिलियन डलर खर्च गरेको थियो । घरेलु मैदानको निर्माणसंगै टोटेनहमले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको थियो ।
लिग अन्तर्गत क्रिष्टल प्यालेसविरुद्ध खेल्दै टोटेनहमले नयाँ घरेलु मैदानको उद्घाटन गरेको हो । नवनिर्मित रंगशालाको उद्घाटन खेलमा टोटेनहमले क्रिष्टललाई २-० ले हराएको छ ।
टोटेनहमलाई जित दिलाउन ह्युंग मिन सन र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे।
जितसंगै तेस्रो स्थानको टोटेनहमले ३२ खेलबाट ६४ अंक जोडेको छ । ३६ अंक जोडेको क्रिस्टल १३ औं स्थानमा छ ।