एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा नान्टेसलाई ३-० गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन मर्को भेराट्टी, केलियन एमबाप्पे र डानी अल्भेसले एक एक गोल गरे ।
१० खेलाडीमा सिमित नान्टेसविरुद्ध पीएसजीले खेलको २९ औं मिनेटमा भेराट्टीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ७२ औं मिनेटमा कालिफा काउलीबालीले रातो कार्ड पाउँदा नान्टेस १० खेलाडीमा सिमित बन्यो । जसको फाइदा पीएसजीले उठायो ।
खेलको ८५ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा अल्भेसले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।