काठमाडौं । प्रदेश नं ३ ले राजधानीमा जारी यू-१६ क्रिकेट लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा प्रदेश ३ ली प्रदेश ५ लाई ३ विकेटले पराजित गर्यो ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश ५ ले २५ औं ओभरमा अलआउट हुनुअघि १ सय ४० रन जोडेको थियो । कप्तान विशाल विक्रम केसीले ८९ रन जोडेपछि प्रदेश ५ ले बलियो योगफल खडा गरेको थियो । २९ रनको स्थितिमा दुवै ओपनर पेभेलियन फर्केपछि क्रिजमा आएका विशालले ४८ बलको सामना गर्दै १३ चौका र ३ छक्का प्रहार गरे । उनी अन्तिम विकेटका रुपमा बाउन्ड्रीनजिक क्याचआउट भएका थिए ।
अमर मिश्राले १५ र सुशान्त थापाले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश ३ का लागि तिलंक भण्डारीले ३, दीपक बोहोराले २ तथा सिमान्त घिमिरे र विवेक दराईले १-१ विकेट लिए ।
जवाफमा प्रदेश ३ ले २८ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । ओपनर विपिन शाही र कप्तान दीपक बोहोराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि मध्यक्रम सम्हालिन नसक्दा प्रदेश ३ ले निकै कसरत गर्नुपर्यो । विपिनले ३१ बलमा ४ चौकाको मदतले २९ रन जोडे । कप्तान दीपकले अभिषेक गौतमको बलमा बोल्ड हुनुअघि १८ बलमा ४ चौकासहित २६ रनको योगदान दिए । त्यसपछि अभिषेक उपाध्याय १, आईश भट्टराई ५ र प्रशान्त महत ५ रनमा आउट भएपछि प्रदेश ३ समस्यामा परेको थियो ।
तल्लोक्रममा कृष कार्कीले ४४ बलमा नटआउट ४१ रन जोडेपछि प्रदेश ३ जितसम्म पुगेको थियो । म्यान अफ द म्याच घोषित उनले ४ चौका र विजयी छक्का प्रहार गरेका थिए । अशोक पौडेलले १४ रनको योगदान दिए । प्रदेश ५ का विशाल विक्रम केसीले ३ तथा रमेश कुर्मी, समिर शाह, अभिषेक गौतम र प्रकाश गिरिले १-१ विकेट लिए ।
यस्तै अर्को खेलमा प्रदेश ६ ले प्रदेश ४ लाई ३ विकेटले नै पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको प्रदेश ४ ले निर्धारित ३० ओभरमा ४ विकेट गुमाउँदै ९८ रन जोडेको थियो । ओपनर अर्जुन कुमालले ६१ रनको योगदान दिएपछि प्रदेश ४ ले सम्मानजनक योगफल तयार पार्यो । अर्जुनले ७५ बलको सामना गर्दै ११ चौका प्रहार गरे । सिब्रिन श्रेष्ठले २६ बलमा १ चौकासहित ६ रनको योगदान दिए । रोशनकान्त न्यौपाने र अभिषेक थापाले खाता खोल्न सकेनन् । सोहेल कुँवर ७३ बलमा १५ रन जोड्दै नटआउट रहे । आदित्य थापा १ रनमा नटआउट रहे । प्रदेश ६ का बेनित खत्रीले २ तथा युनिषविक्रम सिंहले १ विकेट लिए ।
जवाफमा प्रदेश ६ ले १८ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । विजयी टोलीका लागि कप्तान प्रकाश जैशीले नटआउट ५९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर प्रकाशले ५२ बलको सामना गर्दै ८ चौका प्रहार गरे । प्रदेश ६ का भिवन मगर २, युवराज खत्री ३, संगम गिरि २, पुर्नव पेदल ९, विमल मल्ल २ तथा पारस खड्का शून्यमा आउट भए । प्रदेश ४ का लागि शरद तिवारी, निशान कुँवर र नितेश गिरिले २-२ तथा आदित्य थापाले १ विकेट लिए । खेलको म्यान अफ द म्याच प्रदेश ६ का प्रकाश जैशी घोषित भएपनि उनले आफ्नो ट्रफी प्रदेश ४ का अर्जुन कुमाललाई दिएका थिए ।