काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताएका छन् ।
एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा बुधबार नेपाली 'ए' डिभिजन लिग च्याम्पियन मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित भएको थियो ।
'अबहानी निकै बलियो टिम हो । उसले राम्रो खेल्यो । शारीरिक रुपमा बलियो समेत छ,' पहिलो खेलमा पराजित भएपछि प्रशिक्षक लोप्साङले भने, 'हामीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा पराजित भयौं । उनीहरुले एउटा राम्रो मौकामा गोल गर्यो ।'
एन्फा कम्प्लेक्समा अबहानीलाई जित दिलाउन मासिया साईघानीले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा साईघानीले हेड गोल गर्दै अबहानीलाई जित दिलाएका हुन् ।
पहिलो खेलमा हार व्यहोरे पनि अबको पाँच खेलमा पुनरागमन गर्ने प्रशिक्षक लोप्साङले बताए ।
'सुरुको २० मिनेट हामीले उत्कृष्ट खेल्यौं । त्यसपछि हाम्रो खेलाडीको खेल खस्कियो,' प्रशिक्षक लोप्साङले भने, 'पहिलो खेलमा पराजित भयौं । अब पाँच खेल बाँकी छ । अबको खेलमा टिम राम्रो बन्छ ।'
यस्तै कप्तान विराज महर्जनले अबहानीसंग उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भएको बताए । उनले अबको खेलमा टोलीको कमजोरी सुधार गर्ने बताए ।
अबहानीका प्रशिक्षक मारियो लेमोसले नेपालका हेमन गुरुङ र विशाल राईले उत्कृष्ट प्रदर्शन गरेको बताए ।
'राम्रो खेल भयो । मनाङले कडा टक्कर दियो । मनाङका डिफेन्सले हाम्रा फरवार्डलाई कडा निगरानीमा राख्यो । टोलीको प्रदर्शनले खुसि छु,' लेमोसले भने ।