काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।
समूह चरणको पहिलो होम खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अबहानीलाई जित दिलाउन मासिया साईघानीले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा साईघानीले हेड गोल गर्दै अबहानीलाई जित दिलाएका हुन् ।
बल पोजिसनमा पकड जमाएपनि मनाङ गोल गर्न नसक्दा घरेलु मैदानमा पराजित भएको हो । मनाङले अबहानीविरुद्ध पहिलो हाफमै केहि उत्कृष्ट आक्रमण गरेको थियो ।
खेलको छैटौं मिनेटमा विशाल राईको प्रहार अबहानीका किपर साहीदुल आलमले बचाए । यस्तै १३ औं मिनेटमा अन्जन बिष्टको प्रहार पनि अबहानीका किपर आलमले बचाए ।
दोस्रो हाफमा पनि मनाङले केहि उत्कृष्ट प्रहार गरेको थियो । खेलको ७६ औं मिनेटमा एडेलाजा सोमीडेको प्रहार अबहानीका किपर साहीदुलले बचाए ।
यस्तै दोस्रो हाफमा अबहानीले पनि अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । खेलको ८१ औं मिनेटमा सन्डे छिजोबाको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।
जितसंगै समूह 'इ' को अबहानीले महत्वपूर्ण ३ अंक जोडेको छ । मनाङले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अब मनाङले अबहानीसंग आगामी जुन १९ मा बंगलादेशको बंगबन्धु स्टेडियममा खेल्नेछ ।
मनाङले दोस्रो खेलमा भने भारतको चेन्नायीन एफसीविरुद्ध अप्रिल १७ मा उसैको मैदानमा खेल्ने छ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । प्ले अफमा समूह 'इ' को विजेतासहित समूह 'डी', 'आइ' र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।