काठमाडौं । एएफसी कप २०१९ को पहिलो खेलमा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आज बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसंग प्रतिस्पर्धा गर्दैछ ।
मनाङले होम (घरेलु) खेलको रुपमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो अबहानीसंग खेल्दैछ । मनाङ र अबहानीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
समूह 'ई' मा रहेको दुवै टोली जित निकाल्दै महत्वपुर्ण तीन अंक जोड्न चाहन्छन् । जसका लागि दुवै टोलीले अनुभवी र भरपर्दा खेलाडीलाई उतार्ने छन् ।
मनाङ र अबहानीबीचको खेल मुख्य दुई खेलाडी केन्द्रमा रहने छन् । मनाङका प्ले मेकर हेमन गुरुङ र अबहानीका फरवार्ड सन्डे छिजोबा खेलका आकर्षकका रुपमा रहने छन् ।
प्लेयर्स टु वाच :
हेमन गुरुङ (मनाङ)
अबहानीका प्रशिक्षक मारियो लेमोसकै भनाई मान्ने हो भने हेमन गुरुङ विपक्षीका लागि खतरनाक ठहरिने छन् । एएफसी कपको पुर्वसन्ध्यामा बोल्दै लेमोसले हेमन अबहानीको लागि घातक खेलाडी भएको बताएका थिए । प्रशिक्षक लेमोसले हेमनसँगै ओलावाले आफिजलाई पनि उत्कृष्ट रहेको बताएका छन् ।
एन्फा एकेडमीमा उत्पादन हेमनले नेपालका युथ टिम र राष्ट्रिय टिममा राम्रो छाप छाडिसकेका छन् । मनाङलाई कीर्तिमानी आठौँ पटक 'ए' डिभिजन लिग च्याम्पियन बनाउँदा हेमनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । लिग भरी उत्कृष्ट खेल पस्केका हेमन लिगको सर्बोत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।
सन्डे छिजोबा (अबहानी)
अबहानीका छिजोबा निकै अनुभवी फरवार्ड हुन् । नाइजेरियन छिजोबासंग भारतमा खेलेको समेत अनुभव रहेको छ ।
छिजोबाले चुर्चिल ब्रदर्समा २०१४ र २०१५को एक सिजन बिताएका थिए । उक्त सिजन उनको टिमले १३ गोल गर्दा उनले १० खेलमा ८ गोल गरेका थिए ।
त्यसैले प्रशिक्षक मारियोले पहिलो पटक एएफसी कपको समूह चरण पार गर्न उनीमाथि ठुलै आस गरेका छन् ।
मनाङका डिफेन्स र गोलकिपरका लागि सन्डे टाउको दुखाई बन्न सक्ने छन् । अबहानीविरुद्ध जित निकाल्न मनाङले छिजोबालाई मार्क गर्नु पर्ने हुन्छ ।
मनाङको सम्भावित प्लेईङ सेट :
गोलकिपर : विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन (कप्तान) मोहम्मद आशिफ, देवेन्द्र तामाङ, कमल श्रेष्ठ
मिडफिल्डर : सुजल श्रेष्ठ,विशाल राई, एडेलाजा सोमिडे, हेमन गुरुङ, अन्जन विष्ट
स्ट्राइकर : आफिज ओलावाले