काठमाडौं । बंगलादेशी क्लब ढाका अबहानीसंग खेल्दै नेपालको मनाङ मस्याङदी क्लबले एएफसी कप फुटबलको सुरुवात गर्दैछ । नेपालको लिग मनाङले समुह चरणको पहिलो खेलमा अबहानीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ ।
समूह चरण पार गर्ने लक्ष्य लिएको मनाङ बलियो टोली अबहानीविरुद्ध मैदान उत्रदै गर्दा स्पष्ट जितको खोजीमा हुनेछ ।
’घरेलु मैदानमा राम्रो खेल्ने छौं । टिम राम्रो बनेको छ,’ अबहानीसंगको खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, ’डिफेन्स लाइन, मिडफिल्ड र स्ट्राइकिङ बलियो बनाएका छौ । लिगमा भन्दा धेरै नयाँ खेलाडी आएका छन् । जित हाम्रो लक्ष्य हो ।’
बंगलादेश राष्ट्रिय फुटबल टोलीका ७ खेलाडी सहभागि अबहानीलाई बलियो टिम मानिएको छ ।
तर घरेलु मैदान र समर्थकको अगाडी मनाङ तीन अंक जोड्न हर सम्भव प्रयास गर्नेछ ।
मनाङका प्रशिक्षक छिरिङले पहिलो खेल कठिन हुने भएपछि सुखद सुरुवात गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताउँछन् ।
राष्ट्रिय टिम मैत्रिपुर्ण फुटबल र युथ टिम एएफसी यु–२३ च्याम्पियनसिपमा भएकाले मनाङका खेलाडीले लामो समय तयारी गर्न पाएनन् । त्यसको असर बुधबार हुने खेलमा देखिन सक्छ । तर टोलीका सबै सदस्य पुर्ण रुपम फिट भएकाले त्यसको फाईदा मुख्य प्रशिक्षक छिरिङले उठाउन सक्नेछन् ।
अबहानीका प्रशिक्षक मारियो लेमोसले नेपालमा आफुहरु स्पष्ट जित निकाल्ने लक्ष्य सहित आएको बताउँछन् ।
‘हाम्रो लक्ष्य भनेको तीन अंक हो । हामी पुरै योजना र आत्मविश्वासका साथ आएका छौ ।’ उनले भनेका थिए ।
समूह ’इ’ मा रहेको मनाङले अबहानीसंग अवे खेल भने ढाकास्थित बंगबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् ।