काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज (बुधबार) म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ ।
म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सवाँ ५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्व उत्रदै गर्दा नेपाली टिमले कम्तीमा बराबरीको नतिजा अपेक्षा गरेको छ ।
खेल अघि प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताएका थिए ।
‘हामी म्यानमारसँग जित या बराबरीका लागि खेल्नेछौँ ।’ प्रशिक्षक खड्काले भने ।
ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको सुरुवातमै सावित्रा भण्डारीको गोल मार्फत अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।
यस्तै भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले समुह चरणमा म्यानमारसँग ३–० को हार व्यहोरेको थियो । म्यानमारसंगको फाइनलमा खेल नेपालले ३–१ ले गुमाएको थियो ।
साफको उपविजेता नेपाल आत्मविश्वास सहित म्यानमारविरुद्व उत्रने योजनामा हुनेछ ।
फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ । म्यानमार ४४ स्थानमा छ ।
नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।
म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।