काठमाडौं । पहिलो पटक ओलम्पिक छनोट खेलेको नेपाली राष्ट्रिय महिला टोलीले पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्यो ।
म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको थियो । जहाँ नेपालले पहिलो प्रयासमै सफलता हात पारेको थियो ।
पहिलो सहभागितामै दोस्रो चरण पार गरेको नेपाली टिमले भोली (बुधबार) बाट दोस्रो चरणका खेल खेल्दैछ । दोस्रो चरणको पहिलो खेलमा नेपालले आयोजक म्यानमारको सामना गर्दैछ ।
नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, नेपाल म्यानमारलाई रोक्दै दोस्रो चरणको छनोटमा शुखद सुरुवात गर्न चाहन्छ ।
म्यानमार प्रस्थान गर्नु अघि प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित या बराबरीका लागि खेल्ने बताएका थिए । ‘हामी म्यानमारसँग जित या बराबरीका लागि खेल्नेछौँ ।’ प्रशिक्षक खड्काले भनेका थिए ।
पहिलो चरणमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको सुरुवातमै सावित्रा भण्डारीको गोल मार्फत अग्रता लिएपनि म्यानमार बराबरी गर्न सफल रहेको थियो ।
यस्तै भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले पहिलो भेटमा म्यानमारसँग ३–० को हार व्यहोरेको थियो । यस्तै फाइनलमा पनि नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो ।
तर, साफको फाइनल खेलेको नेपाल आत्मविश्वासी हुनेछ । फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ । म्यानमार ४४ स्थानमा छ ।
यस्तै प्रशिक्षक खड्काले भारत र इन्डोनेसियासँग नेपाल जितको लागि खेल्ने बताए ।
नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।