काठमाडौं । प्रदेश नम्बर ३ ले राष्ट्रिय यु–१६ क्रिकेट लिग प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार प्रदेश ३ ले प्रदेश नम्बर ४ लाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन जोड्यो । ओपनरद्वय दीपक बोहोरा र आईश भट्टराईले अर्धशतक प्रहार गर्दै प्रदेश ३ लाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि १ सय ४ रन बनाएका थिए ।
प्रदेश ४ का लागि कप्तान अभिषेक र रोशन न्यौपानेले २÷२ तथा आदित्यले १ विकेट लिएका थिए ।
२ सय ११ रनको लक्ष्य पछ्याएको प्रदेश ४ ले ६ विकेट गुमाएर १ सय २० रन मात्र जोड्न सक्यो ।
ओपनर अर्जुन कुमालले ३८ रन जोड्नुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।
प्रदेश ३ का तिलक भण्डारीले २ तथा विवेक दराई, आईश भट्टराई र दीपक बोहोराले १/१ विकेट लिए ।
चैत्र १९ देखि २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । प्रत्यक समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । यसै प्रतियोगिताबाट थाईल्यान्डमा हुने एसीसी यू–१६ इस्टर्न रिजनका लागि खेलाडी छनोट गरिनेछ ।
प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।