काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बुधबार पहिलो खेल खेल्दैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले पहिलो खेलमा बंगलादेशी लिग विजेता ढाका अबहानी लिमिटेडसंग खेल्नेछ । मनाङ र अबहानीबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
समूह चरण पार गर्ने लक्ष्य लिएको मनाङ बलियो टोली अबहानीविरुद्ध मैदान उत्रदा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
'घरेलु मैदानमा राम्रो खेल्ने छौं । टिम राम्रो बनेको छ,' अबहानीसंगको खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, 'डिफेन्स लाइन, मिड र स्ट्राइकर लिगको भन्दा बलियो भएको छ । लिगमा भन्दा धेरै परिवर्तन छ । हाम्रो जित्ने लक्ष्य छ।'
बंगलादेशी टोली अबहानी निकै बलियो देखिएको छ । अबहानीसंग बंगलादेश राष्ट्रिय फुटबल टोलीका ७ खेलाडी रहेका छन् । तर, घरेलु समर्थकको साथ पाएको मनाङ ३ अंकको लागि खेल्नेछ ।
मनाङका प्रशिक्षक छिरिङले पहिलो खेल कठिन हुने भएपछि सुखद सुरुवात गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताए ।
'सबै टोलीको दोस्रो चरणमा पुग्ने सम्भावना बराबर छ । तर, हाम्रो लक्ष्य समूह चरण पार गर्ने रहेको छ । त्यसको सुरुवात भोलिबाट हुनेछ,' प्रशिक्षक छिरिङले भने ।
प्रशिक्षक छिरिङले अबहानीसंग खेल खेल्न टीम पूर्ण तयार भएको समेत बताए । उनले टोलीमा चोटको समस्या नरहेको समेत बताए ।
तर, उनले एएफसी यू-२३ च्याम्पियनसिप छनोट र नेपालको ओमनसंगको मैत्रीपुर्ण खेलले टोलीको अभ्यासमा केहि समस्या भएको बताए ।
यस्तै कप्तान बिराज महर्जनले टिम शारीरिक र मानशिक रुपमा खेल खेल्न तयार भएको बताए । घरेलु मैदानमा बलियो अबहानीलाई कडा टक्कर दिने समेत बिराजले बताए ।
'हामी जित्नको लागि खेल्छौ । शारीरिक र मानशिक रुपमा हामी तयार छौ । बिपक्षी राम्रो छ तर हामी कडा टक्कर दिने छौँ,' कप्तान बिराजले भने ।
अबहानीका प्रशिक्षक मारियो लेमोसले पनि घरेलु टोलीसंग ३ अंकको लागि खेल्ने बताए । क्लबले दोस्रो चरण पुग्ने लक्ष्य लिएको कारण पहिलो खेल महत्वपूर्ण हुने पोर्चुगिज प्रशिक्षक लेमोसले बताए ।
'हामी आत्मविश्वासी छौँ । हामीले घरेलु टोलिसंग कसरि खेल्ने भन्ने रणनीति २ महिनाबाट तयार गरिसकेका छौँ,' प्रशिक्षक लेमोसले भने, 'हाम्रो मुख्य लक्ष्य ३ अंक हो । हामीले एक मिसन बनाएर आएका छौँ ।'
प्रशिक्षक लेमोसले नेपाली फुटबल र मनाङको खेलको आफुले धेरै अध्ययन गरेको समेत उनले बताए ।
समूह 'इ' मा रहेको मनाङले अबहानीसंग अवे खेल भने ढाकास्थित बंगबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ ।
होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् ।
मनाङ र अबहानीबीचको खेलको टिकट कति ?
जान्न यो लिंक खोल्नुहोस् ।