धनगढी । कैलालीको गोदावरी नगरपालिकामा बैशाख पहिलो साताबाट आयोजना हुने भनिएको प्रथम बिवाईसी मेयर कप फुटबल पाँच दिन पछि सरेको छ ।
प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको कारण मेयर कप पछि सारिएको आयोजक वनदेवि युवा क्लबले जनाएको छ । अब प्रतियोगिता बैशाख १० गतेदेखि १८ गतेसम्म आयोजना हुनेछ ।
यसअघि प्रतियोगिता ६ गतेदेखि १५ गतेसम्म हुने भनिएको थियो । आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख १ रुपैया सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक प्रकाश शाहीले जानकारी गराए । यस्तै उपविजेताले १ लाख ५० हजार १ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले १५ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १०–१० हजार पाउने छन् ।
प्रतियोगितामा कैलाली कंचनपुर सहित देशैभरका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका टिमहरुले सहभागिता जनाउन पाउने छन् ।
सहभागि टोलीले आफ्नै पालिकाभित्रका अनिवार्य रुपमा ८ जना खेलाडी र ३ जना पालिका बाहिर वा विदेशी खेलाडी राख्न पाउने ब्यबस्था गरीएको छ ।