काठमाडौं । रुस्लान थ्री स्टार क्लब तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा एलेभन एरोज क्लब दुहबीलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा थ्री स्टारका रजीन धिमाल,मान्सा, विजय धिमाल र सुनील बलले गोल गरे ।
एलेभन एरोजका जीवन धिमालले मात्र गोल गरे । एलेभन एरोजका रोशन भुजेलको प्रहार थ्री स्टारका किपर एलेन न्यौपानेले बचाए भने उमेश राईको प्रहार बाहिरिएको थियो ।
खेलकेा म्यान अफ दि म्याच एलेभनका सुर्य अधिकारी चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले ६ लाख पाउनेछ । यस्तै उपविजेताले ३ लाख पाउने छ ।