एजेन्सी । आयरल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले कीर्तिमानी जित निकालेको छ । शुक्रबार राति भएको खेलमा आयरल्याण्डलाई १४३ रनले हराउदै भारतले कीर्तिमानी जित निकालेको हो ।
आयरल्याण्डविरुद्ध भारतले निकालेको यो जित टी-ट्वान्टी क्रिकेटमा भारतले निकालेको जितमध्ये सर्वाधिक ठुलो रनको जित हो । यस्तै यो जित टी- ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटकै दोस्रो ठुलो रनको जित हो । यस्तै भारतले पहिलोपटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको दुई खेलमा लगातार २ सय बढी रन बनाएको छ ।
डुब्लीनमा भारतले दिएको २१३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १२ ओभर ३ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । आयरल्याण्डका कप्तान ग्रे विल्सनले १५, विलियम पोर्टरफिल्डले १४ तथा स्टुवार्ड थम्पसनले १३ रन जोडे । भारतका कुलदिप यादब र युजभेन्द्र चाहलले समान ३ – ३ विकेट लिदा उमेश यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २१३ रन जोडेको थियो । भारतको लागि लोकेस राहुलले ७० तथा सुरेश रैनाले ६९ रन जोडे । हार्दिक पाण्डे ३२ र मनिस पाण्डे २१ रनमा अविजित रहे । आयरल्याण्डका केभिन ओ ब्रायनले ३ विकेट लिए ।
यो जितसंगै भारतले दुई खेलेको टी-ट्वान्टी सिरिज २ – ० ले कब्जा जमाएको छ । पहिलो खेलमा भारतले ७६ रनको जित निकालेको थियो ।
अब भारतले इंग्ल्यान्डसंग ३ खेलको टी – ट्वान्टी र एकदिवसीय सिरिज खेल्दा पाँच टेष्ट क्रिकेट खेल्ने छन् ।