एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ ।
सोमबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर रहेको दिल्ली क्यापिटल्स र किङ्गस इलाभेन पन्जाबबीच खेल हुनेछ । चन्द्रिगढमा पन्जाब र दिल्लीबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
बिन्द्रा स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीले अघिल्ला ३ खेलमा एक हार र २ जित निकालेका थिए ।
पाँचौ स्थानको पन्जाबको ४ अंक छ । यस्तै चौथो स्थानको दिल्लीको पनि ४ अंक रहेको छ ।
दुई टोलीबीचको पछिल्ला पाँच भेटमा पन्जाब बलियो देखिएको छ । पन्जाबले ४ खेल जित्दा दिल्लीले एक मात्र खेल जितेको छ ।
पन्जाबविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उत्राने सम्भावना बलियो रहेको छ । दिल्लीले सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन् । तर, सन्दीपले तेस्रो खेल कोलकत्ता नाइट राइडर्सविरुद्ध दिल्लीको टोलीमा स्थान बनाएका थिए ।
कोलकत्ताविरुद्ध सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।