काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ओलम्पिक छनोटको दोस्रो चरणमा उत्कृष्ट नतिजा ल्याउने बताएका छन् ।
दोस्रो चरणको छनोटका लागि म्यानमार प्रस्थान गर्नु अघि प्रशिक्षक खड्काले विगतको गल्तिलाई सुधार गर्दै राम्रो नतिजा ल्याएर घर फर्कने बताए ।
प्रशिक्षक खड्काले घरेलु भूमिमा भएको साफ च्याम्पियनसिपमा टोलीले गरेको गल्तिहरु बिर्सेर म्यानमारमा अघि बढ्ने बताए ।
विराटनगरमा गत साता सम्पन्न पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल चिरप्रतिद्धन्दी भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
‘साफको गल्ति अब विगत भयो । साफ च्याम्पियनसिपमा भोगेको पीडा म्यानमारमा पोख्ने कोशिस गर्छौं ।’ प्रशिक्षक खड्काले भने ।
प्रशिक्षक खड्काले आयोजक म्यानमार, भारत र नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग फरक फरक रणनीति बनाएर मैदान उत्रदै सफलता हात पार्ने बनाए ।
‘म्यानमारसँग हाम्रो छुटै रणनीति हुन्छ । किनभने म्यानमार समूहको राम्रो टिम हो । भारत र इन्डोनिसियासँग हाम्रो अर्काे रणनीति हुन्छ,' प्रशिक्षक खड्काले भने, 'फरक टिमसँग फरक रणनीतिमा खेल्छौ र राम्रो नतिजा लिएर आउनेछौँ ।’
समूह 'ई' मा रहेको नेपालले आयोजक म्यानमारसंग अप्रिल ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै भारतसंग ६ अप्रिल र इन्डोनेसियासंग अप्रिल ९ मा खेल्नेछ । शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसंग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
प्रशिक्षक खड्काले दोस्रो चरणको छनोटका लागि खेलाडीहरु उत्साहित रहेको र नतिजा आफु अनुकुल हुने बताए ।
‘दोस्रो चरण खेल्न पाउँदा खेलाडी एकदमै उत्साहित छन् । आफुभन्दा राम्रो टिमसँग खेल्न पाएकोमा सबै उत्साहित छन् । राम्रो नतिजा निक्लने विश्वास छ,' प्रशिक्षक खड्काले भने ।
यस्तै कप्तान निरु थापाले म्यानमार र भारतसंग खेलिसकेको कारण साफको प्रदर्शनलाई बिर्साउने गरि नतिजा ल्याउने बताइन ।
छनोटका लागि नेपाली टोली आइतबार म्यानमार प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपालका लागि कतारको कार्यबाहक राजदूत जासिङ सलाह अलि अल जविर लगायतले विदाई गरेका थिए ।