काठमाडौं । ट्रिटन कलेजले कलेज प्रिमियर लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा गोल्डेन गेट कलेजलाई ५ विकेटले पराजित गर्दै ट्रिटन च्याम्पियन बनेको हो ।
उपाधिसंगै ट्रिटनले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको गोल्डेन गेटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गोल्डेन गेटले दिएको १२७ रनको लक्ष्य ट्रिटनले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । ट्रिटनको जितमा प्रदीप ऐरीले अविजित ४५ रन जोडे ।
यस्तै प्रतियोगिताकै उत्कृष्ट ब्याट्स्म्यान घोषित भएका आदिल खानले ३३ रन बनाए । गोल्डेन गेटका नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।
यसअघि गोल्डेन गेटले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । गोल्डेन गेटका दिपेन्द्र सिंह ऐरीले ६१ रन जोड्दा सुमित महर्जनले २० रन बनाए । ट्रिटनका ललित नारायण राजबंशी र अरुण ऐरिले दुई/दुई विकेट लिए ।
प्रतियोगितामा गोल्डेन गेटका दिपेन्द्र म्यान अफ द सिरिज घोषित भए । उनले २५ हजार रुपैया प्राप्त गरे । काठमाडौं युनिभर्सिटीका रुपेश श्रीवास्तव उत्कृष्ट बलर घोषित भए ।
युनिभर्सिटी क्रिकेट क्लबको योजनामा भएको प्रतियोगितामा १२ कलेजको सहभागीता रहेको थियो ।