एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले शीर्ष स्थानको बार्सिलोनालाई चेतावनी दिएका छन् । उनले ला लिगाको उपाधि भिडन्तमा एट्लेटिको अन्तिम समयसम्म लड्ने भन्दै बार्सिलोनालाई चेतावनी दिएका हुन् ।
ला लिगाको पछिल्लो खेलमा डिपोर्टिभो आल्भेसलाई ४–० ले पराजित गरेपछि एट्लेटिको प्रशिक्षक सिमोनको यस्तो चेतावनी आएको हो । उनले उपाधिको यात्रा बार्सिलोनालाई सहजै छाड्न नसकिने समेत बताएका छन् ।
बार्सिलोनाले स्पानियोललाई २–० ले पराजित गरेलगत्तै एट्लेटिकोको डिपोर्टिभोमाथि प्रभावशाली जित निकालेको थियो ।
च्याम्पियन्स लिगको यात्रामा युभेन्ट्ससंग स्तब्ध बनेपछि एट्लेटिको ला लिगामा केन्द्रित छ ।
उनले उपाधिको यात्रामा फेरबदल हुने सम्भावना रहेको समेत औल्याएका छन् ।
‘हामी यो भुल्न चाहदैनौ कि हामी लिगको कुनैपनि बिन्दुमा प्रतिस्पर्धा गर्न सक्छौ । हामी ला लिगामा आफ्नो अन्तिम साससम्म प्रतिस्पर्धा गर्न चाहन्छौ ।’ उनले थपे ।
जितसंगै एट्लेटिकोले बार्सिलोनासंगको अंक दुरी १० मा झारेको छ । शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एट्लेटिको ५९ अंक सहित दोस्रो स्थानमा छ ।
बार्सिलोनाले शनिबार राति भएको खेलमा स्पानियोललाई २–० ले हराएको थियो । बार्साको दुवै गोल लियोनल मेस्सीले गरेका थिए ।
बार्सिलोना अब भिल्ला रियलको भ्रमणमा निस्कनेछ । लगत्तै उसले नेउ क्यापमा एट्लेटिकोसंग खेल्नेछ ।
सिमोनको क्लब एट्लेटिकोले बार्सिलोनासंग खेल्नु अघि घरेलु मैदानमा जिरोनासंग खेल्नेछ ।