एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलको महत्वपुर्ण खेलमा आज (आईतबार) राति लिभरपुल र टोटेनहम हट्र्सपर भिड्दैछन् । उपाधि होडमा रहेको लिभरपुललाई घरेलु मैदानमा तेस्रो स्थानको टोटेनहमले चुनौती दिन लागेको हो ।
शीर्ष स्थानको म्यान्चेष्टर सिटीलाई दबाबमा राख्न र शीर्ष स्थानमा फर्कन लिभरपुललाई जितको आवश्यकता छ । टोटेनहम भने जित निकाल्दै उपाधि होडमा लिभरपुललाई कमजोर पार्ने उद्वेश्यमा हुनेछ ।
च्याम्पियन्स लिगमा छनोटको सम्भावनालाई बलियो बनाउन समेत पाहुना टोलीलाई लिभरपुलविरुद्वको खेल महत्वपुर्ण छ । खेलको नतिजाले प्रिमियर लिगको उपाधि होडलाई थप रोमाञ्चक बनाउने पक्का छ ।
लिभरपुलका प्रशिक्षक योर्गान क्लोप टिमको प्रर्दशनमा विश्वास राख्छन् ।
‘खेलाडीको क्षमता महत्वपुर्ण छ । उनीहरुको व्यवहार र चरित्रले समेत अर्थ राख्छ । हामी अन्तिम समय सम्म हरसम्भव प्रयास गर्नेछौ ।’ उनी भन्छन् ।
टोटेनहम यति बेला नयाँ रंगशालाको स्वाद चाखिरहेको छ । खेलाडी नयाँ रंगशालाको वातावरणमा अभ्यस्त भईरहेका छन् ।
‘पाँच बर्षपछि हामी आईपुगेका छौ । सबैले भन्छन्, यदी तपाई खेलाडीलाई आकर्षित गर्न चाहनुहुन्छ भने च्याम्पियन्स लिग आवश्यक छ । तर यो सबै गलत छ ।’ टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले भने ।
‘हामी निकै रोमान्टिक छौ । तर धेरै मानिस रोमान्टिक छैनन् । तपाई आफ्नो क्लबकालागि हस्ताक्षर गर्नेलाई सम्झन आवश्यक छ ।’ उनले थपे ।
दोस्रो स्थानको लिभरपुलको ७६ अंक छ । शीर्ष स्थानको म्यानचेष्टर सिटी भने लिभरपुल भन्दा मात्र एक अंकले अगाडी छ । तेस्रो स्थानको टोटेनहमको ६१ अंक छ ।
आजै राति अर्को खेलमा चेल्सीले कार्डिफ सिटीसंग खेल्दैछ । चेल्सीलाई रेलिगेशन जोनमा रहेको कार्डिफ सिटीमाथि जित निकाल्दै च्याम्पियन्स लिग छनोटको यात्रा सहज बनाउने अवसर प्राप्त छ ।
चेल्सी ५७ अंक सहित छैटौ स्थानमा छ । कार्डिफ सिटी २८ अंक सहित रेलिगेशन जोनमा छ ।