एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सलाई जित दिलाउन मोइस किनले निर्णायक गोल गरे । युरोकप छनोटमा चोट बोकेका रोनाल्डो विश्राममा रहेका छन् ।
तर , युभेन्ट्सलाई जित दिलाउन सुपर सब्सिच्युड खेलाडी किनले गोल गरे । खेलको ७२ औं मिनेटमा किनले गोल गर्दै युभेन्ट्सलाई महत्वपुर्ण ३ अंक दिलाए । किन खेलको ६९ औं मिनेटमा ब्लेइस माटुइडीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसंगै युभेन्ट्सले लिगमा १८ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले २९ खेलबाट ७८ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीको ६० अंक रहेको छ ।
पराजित इम्पोली २७ अंकसहित १७ औं स्थानमा रहेको छ ।