काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को उपमहासचिवमा बसन्त अर्याल र मोहन बस्नेतलाई मनोनित गरिएको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाका दुई रिक्त उपमहासचिव पदमा अर्याल र बस्नेतलाई मनोनित गरेका हुन् । अर्याल एन्फाको अघिल्लो कार्यसमितिमा सदस्य रहेका थिए । विगत २ दशक यता उनी एन्फामा रहदै आएका छन् । बस्नेत भने श्री कुमारी क्लबका अध्यक्ष हुन् । उनी हालै कांग्रेसको ट्रेड युनियन कांग्रेसको कोषाध्यक्षमा समेत निर्वाचित भएका थिए ।
एन्फाको हालैसम्म कार्यसमिति बैठकमा अध्यक्ष शेर्पाले दुई जनालाई मनोनित गरेको व्यहोरा प्रस्तुत गरेका थिए । तर एन्फाले सार्वजनीक गरेको ८ वटा निर्णयमा भने उप महासचिव मनोनयनको निर्णय भने राखिएको छैन् । एन्फा प्रवक्ता किरण राईले बैठकको अन्तिममा अध्यक्षले नाम प्रस्ताव गरेकाले अर्को कार्यसमिति बैठकले उप महासचिवको नाम अनुमोदन गर्ने खेलपाटीलाई बताए ।
एन्फा अध्यक्षमा निर्वाचित भएलगत्तै कार्यसमिति बैठकले पदाधिकारी मनोनयनको सम्पुर्ण जिम्मेवारी र अधिकार अध्यक्षलाई सुम्पेको थियो । अध्यक्ष शेर्पाले निर्वाचन लगत्तै महासचिवमा इन्द्रमान तुलाधरलाई नियुक्त गरेका थिए ।