एजेन्सी । म्यानचेस्टर युनाईटेड इन्ग्लिश प्रिमियर लिग फुटबलको चौंथो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वाट्फोर्डलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष चारमा पुगेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । वाट्फोर्डका अब्डोउले डोउकोरेले एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा खेलको २८ औं मिनेटमा राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा वाट्फोर्डका डोउकोरेले एक गोल फर्काएपनि युनाईटेडले खेल २-१ ले आफ्नो बनायो ।
जितसंगै चौंथो स्थानमा उक्लिएको युनाईटेडले ३० खेलबाट ६१ अंक जोडेको छ । पराजित वाट्फोर्ड ४३ अंकसहित नवौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीले बर्नेमाउथ, क्रिस्टल प्यालेसले हडर्सफिल्ड टाउन र बर्नेलीले उल्भ्सलाई समान २-० गोल अन्तरले पराजित गरेको छ । साउथह्याम्पटनले ब्राइटनलाई १-० ले हराएको छ ।