काठमाडौं । गोल्डेन गेट कलेज र ट्रिटन कलेजले राजधानीमा जारी कलेज प्रिमियर लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई ७२ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको गोल्डेन गेटले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो ।
गोल्डेन गेटका लागि सुमित महर्जन र अनिलकुमार शाहले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । अनिल ३९ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोड्दै क्याच आउट भए । सुमितले १९ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनको योगदान दिए ।
यस्तै सोनु तामाङले २७ रन बनाए । केयूका रुपेश श्रीवास्तव र विकास यादवले समान ३/३ विकेट लिए ।
गोल्डेन गेटले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको केयू १९ ओभर ४ बलमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सक्यो । उसका सोनु देवकोटाले १९ र नविन यादवले २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । गोल्डेन गेटका अमरसिंह राउटेलाले ३, नन्दन यादव, दिपेन्द्र ऐरी र पृथु बाँस्कोटाले समान २/२ विकेट लिए ।
यस्तै ट्रिटन कलेजले हिमालय कलेजलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो ।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा हिमालयले चार विकेटको क्षतिमा २३ रन बनायो । जवाफमा ट्रिटनले ३ ओभर ३ बलमा २६ रन बनायो ।
युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारी प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।