हेटौडा । आयोजक मकवानपुर-११ ले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट मकवानपुर गोल्डकप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा क्यामरुनको दाउफिन्सलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
उपाधिसँगै आयोजक मकवानपुरले ८ लाख प्राप्त गरेको छ । उपविजेता बनेको दाउफिन्सले ४ लाखमा चित्त बुझायो ।
हेटौडाको फोरेष्टि मैदानमा मकवानपुरलाई जित दिलाउन योगेश गुरुङले दुई गोल गरे । दाउफिन्सविरुद्ध पुनरागमन जित निकाल्ने क्रममा योगशले दुवै गोल पेनाल्टीमा गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने दाउफिन्सले बनाएको थियो । खेलको ५ औं मिनेटमा यान्निक ओवानाले गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाएका थिए । ओवानाले दुई डिफेन्डर र गोल किपर बिट भएको अवस्थामा गोल गरेका थिए ।
तर, खेलको ९ औं मिनेटमा योगेशले पेनाल्टीमा गोल गर्दै मकवानपुरलाई खेलमा फर्काए । यस्तै खेलेको ८२ औं मिनेटमा योगेशले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै मकवानपुरलाई उपाधि दिलाए ।