एजेन्सी । युनिभर्सल बोस भनेर चिनिने वेष्ट इण्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल सधै चर्चामा रहने गर्छन ।
यतिबेला गेल पुन: चर्चामा आएका छन् । गेल भारतको राजनीतिक दल भारत जनता पार्टी (भाजपा) प्रवेश गरेको हल्लाले चर्चाको पात्र बनेका छन् ।
हुन पनि गेल १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्न भारतमा रहेका छन् । गेलले किङ्गस इलाभेन पन्जाबबाट खेलिरहेका छन् ।
गेल भाजपा प्रवेश गरेको कुरा गलत हो । तर, गेल फोटोसपको माध्यमबाट भारतको लोक सभाको चुनावको चर्को प्रचारप्रसारमा भने समेटिएका छन् ।
भाजपाका समर्थकहरुले गेलको फोटोमा भाजपाको गलबन्दी लगाएको देखिने गरि फोटोसप गर्दै तस्बिरहरु सामाजिक संजालमा अप्लोड गरेपछि गेल भाइरल बनेका हुन् ।
भाजपाका नेताहरुको फोटोमा गेलको टाउको मिल्ने गरि फोटोसप गरिएको थुप्रै फोटोहरु यति बेला सामाजिक संजालमा भेट्न सकिन्छ ।
गेल ठुलो सेलिब्रेटी भएका कारण यस्ता फोटोहरु भारतमा छोटो समयमै भाइरल भएको हो । भाजपाका समर्थकहरुले चुनावको प्रचार गर्न यस्तो गरेको हुन सक्ने अनुमान लगाइएको छ ।
हालै भारतका पुर्व क्रिकेटर गौतम गम्भीरले औपचारिक रुपमा भाजपा प्रवेश गरेका थिए ।