काठमाडौं । गोल्डेन गेट इन्टरनेशनल कलेज र हिमालय कलेजले कलेज प्रिमियर लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्
टियु क्रिकेट मैदानमा शुक्रबार गोल्डेन गेटले त्रिभुवन विश्वविद्यालय (टियु) लाई १ सय ३८ रनले हराएर समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
टस जितेर ब्याटिङ गरेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रनको विशाल योगफल खडा गर्यो । ओपनर दिपेन्द्र सिंह ऐरीले शतक तथा शरद भेषावकरले अर्धशतक जोडेपछि गोल्डेन गेटले उच्च योगफल बनाएको थियो ।
दिपेन्द्र ५२ बलमा १ सय १ रन जोड्दै मिड विकेट बाउन्ड्रीमा क्याच आउट भए । उनले आक्रामक ब्याटिङ गर्दै १३ चौका र ६ छक्का प्रहार गरेका थिए । अर्का ओपनर शरदले ३१ बलमा ५८ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कप्तान पृथु बाँस्कोटाले १५ रन जोडे । टियुका रोशेषले ३ विकेट लिए ।
गोल्डेन गेटले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको टियुले २० ओभरमा ५ विकेट गुमाउँदै मात्र ८८ रन जोड्न सक्यो । ओपनर कृष्णदेव भट्ट र रोशेष पौडेलले २०-२० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । गोल्डेन गेटका शरद भेषावकरले २ विकेट लिए ।
अर्को खेलमा हिमालय कलेजले शंकरदेव कलेजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । उसका गजेन्द्र बोहोराले ७२ र दीपक बोहोराले २९ रन बनाए । हिमालयका विकास यादवले ४ विकेट लिए ।
शंकरदेवले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको हिमालयले १६ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो ।
अब हिमालयले सेमिफाइनलमा ट्रिटन कलेजसंग खेल्ने छ । यस्तै गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयको सामना गर्ने छ ।