काठमाडौं । खालीबारी युवा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
शुक्रबार भएको सुपर लिगको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै खालीबारी च्याम्पियन बनेको हो ।
उपाधिसंगै खालीबारीले नगद ५ लाख समेत प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको ओसिस क्लबले ३ लाख प्राप्त गर्यो ।
लिगमा तेस्रो भएको बिरगंज युथ क्लबले २ लाख प्राप्त गर्दा चौथो भएको प्लानिङले १ लाखमा चित्त बुझायो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारीलाई जित दिलाउन मनिस डाँगीले दुई गोल गरे । प्लानिङका ऋषब राज अधिकारीले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा मनिसले गोल गर्दै खालीबारीलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा प्लानिङका ऋषबले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ६७ औं मिनेटमा मनिसले व्यक्तिगत दोस्रो गोल गर्दै खालीबारीलाई च्याम्पियन बनाए ।
यस्तै प्रतिस्पर्धात्मक बनेको खेलमा प्लानिङ ९ खेलाडी र खालीबारी १० खेलाडीमा समेटिएको थियो ।
खेलको ८३ औं मिनेटमा रेफ्रीले एकै पटक तीन रातो कार्ड देखाएका थिए । प्लानिङका सन्जिब लामा र बिशान्त मगरले रातो कार्ड पाएर मैदानबाहिर निसक्दा खालीबारीका मनि कुमार लामाले रातो कार्ड पाएका थिए ।
जितसंगै खालीबारीले सुपर लिगमा ६ अंक जोड्यो । दोस्रो भएको ओसिसले ५ अंक जोड्दा तेस्रो बिरगंजले ४ र प्लानिङले १ अंक जोड्यो ।
'सी' डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गरेका थिए । ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
लिग चरणको खेलपछि समूहका शीर्ष दुई गरि ४ टोली सुपर लिगमा पुगेका थिए ।
लिगमा ओसिसका प्रकाश पुन उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलकिपर बिरगंजका जयराम चौधरी, डिफेन्डर प्लानिङका मान बहादुर रानामगर र मिडफिल्डरमा खालीबारीका सुरज गुरुङ चुनिए ।
खालीबारीका प्रशिक्षक अमित राउत उत्कृष्ट प्रशिक्षक बन्दा फेयर प्ले अवार्ड ओसिसले हात पार्यो । व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समान २५/२५ हजार प्राप्त गरे ।