एजेन्सी । बल टेम्परिङको आरोपमा अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरको निलम्बन फुकुवा भएको छ । गत एक बर्षदेखि निलम्बनमा परेका स्मिथ र वार्नरको कारबाही हिजो (बिहिबार) सकिएको हो ।
गत चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।
निलम्बनका कारण दुवै भरपर्दा ब्याट्सम्यानले आफ्नो देशबाट अन्तराष्ट्रिय खेल खेल्न बन्चित थिए । अब फुकुवापछि उनीहरु आउंदै गरेको विश्वकपको लागि छनोट हुने बाटो खुलेको छ ।
हाल उनीहरु भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त रहेका छन् भने अस्ट्रेलियाले विश्वकपको संघारमा पाकिस्तानबिरुद्द एक दिवसीय सिरिज खेलिरहेको छ ।
आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन् । उनीहरुको आईपीएलको प्रदर्शनले नै विश्वकपको बाटो लगभग निर्धारण गर्ने छ ।
आईपीएलमा सहभागी हुनु अघि दुवै खेलाडीले अष्ट्रेलियाका खेलाडी र क्रिकेट प्रतिनिधिसंग भेट गरेका थिए । र, आफ्नो पुनरागमनको प्रतिक्षा गरेको बताएका थिए ।
आईपीएलमा दुई खेलाडीको लय हेर्दा, लामो समयपछि अन्तराष्ट्रिय खेलमा फर्किन लागेका उनीहरु विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्न सक्ने बताईएको छ ।