काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिगको खेलाडी खरिद बिक्री आगामी आईतबार हुने भएको छ ।
आयोजक एनसीएल स्पोर्टस प्रालीले प्रतियोगिता खेल्ने खेलाडीको अक्सन पर्सी आईतबार राखिएको जानकारी दिएको छ । काठमाडौंको गैरिधारास्थित एक होटलमा हुने अक्सन बिहान साँढे १० बजे सूरु हुनेछ ।
पहिलो पटक नेपालमा सुरु महिला फ्रेन्चाईजमा ४ टिम सहभागि छन् । टिमका मार्की प्लेयर समेत सार्वजनीक भईसकेका छन् । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।
भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।
पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ । क्षेत्रीय एवंम जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ ।
खेलाडीको अक्सन मुल्य सोही श्रेणी अनुसारको रहेको छ । पहिलो श्रेणीको न्युनतम मुल्य ४० देखि अधिकतम ७५ हजार रुपैयाँ रहेको छ । दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य रहेको छ ।
प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुनेछ ।