काठमाडौं । ट्रिटन कलेज र काठमाडौं विश्वविद्यालय (केयू) राजधानीमा जारी कलेज प्रिमियर लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
टियु क्रिकेट मैदानमा बिहिबार ट्रिटनले अर्किड कलेजलाई ४४ रनले पराजित गर्दै समूह 'ए' को शीर्ष स्थानमा रहदै अन्तिम चारमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको ट्रिटनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । ट्रिटनका लागि आदील खानले ४९ रन जोड्दा प्रदिप ऐरीले ३७ रनको योगदान दिए । अर्किडका विज्ञान गौतमले २ तथा चन्द्रकान्त पौडेल र विजय विष्टले १-१ विकेट लिए ।
ट्रिटनले दिएको १ सय ४३ रन्को लक्ष्य पछ्याएको अर्किडले २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनमात्र जोड्न सक्यो । उसका प्रवेश खड्काले २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् ।
यस्तै अर्को खेलमा काठमाडौं विश्वविद्यालयले त्रिचन्द्र कलेजलाई १९ रनले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको केयूले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५२ रन जोड्यो । उसका प्रविन रिजालले ५१ रन जोड्दा रवीन जोशीले २९ रन बनाए । त्रिचन्द्रका दिलिप नाथले ३ विकेट लिए ।
जवाफमा त्रिचन्द्रले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २४ रन बनायो । उसका पुरन विकले ४७ तथा प्रज्वल शाहीले ३३ रन जोडे । केयूका रुपेश श्रीवास्तवले ४, इशान पाण्डे र सागर शर्माले २-२ विकेट हात पारे ।
जितसंगै केयू समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।