काठमाडौं । विवादित बनेको खेलमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स क्लब हेटौडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
हेटौडाको फोरेष्टि मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा दाउफिन्सले थ्रीस्टारलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गर्याे ।
निर्धारित समय १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जसमा दाउफिन्स सफल भयो ।
पेनाल्टी सुट आउटमा थ्री स्टारका अनिल गुरुङको प्रहार बाहिरिएको थियो । रन्जित धिमाल, मानसा र विजय धिमालले गोल गरेको थिए ।
दाउफिन्सका बिजिक, एंगमा एंगोल, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरेका थिए ।
पेनाल्टी अघि ६३ औं मिनेटमा एन्निक ओवानाले गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा रन्जन बिष्टले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काएका थिए ।
जितसंगै यसै सिजन गोल्डकप खेल्न नेपाल आएको दाउफिन्सले थ्री स्टार क्लबलाई समेत पराजित गर्न सफल भएको छ । दाउफिन्सले यसअघि नेपालका गोल्डकप खेल्ने सबै 'ए' डिभिजन क्लबलाई हराईसकेको छ ।
अब दाउफिन्सले उपाधिका लागि आयोजक मकवानपुर-११ संग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितको विजेताले ८ लाख पाउनेछन् । यस्तै उपविजेता टिमले ४ लाख पाउनेछ । यस्तै आयोजकले प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले ५० हजार पाउने जनाएको छ ।