एजेन्सी । पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवशीय क्रिकेट सिरिज अष्ट्रेलियाले दुई खेल अगाबै जितेको छ । बुधबार राति भएको तेस्रो खेलमा पाकिस्तानलाई ८० रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३-० ले जितेको हो ।
अबुधाबीमा अष्ट्रेलियाले दिएको २६७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४४ ओभर ४ बलमा अलआउट हुँदै १८६ रनमा समेटियो । पाकिस्तानका इमाम उल हकले सर्वाधिक ४६ तथा इमाद वासिमले ४३ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै पाकिस्तानका उमार अकमलले ३६ रन जोड्दा कप्तान सोयब मल्लिकले ३२ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा पाट कुमिन्सले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभरमा ६ विकेट गुमाएर २६६ रन जोडेको थियो ।
अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ९० रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्स्वेलले पनि ७१ रनको अर्धशतकीय इनिङ्स खेले । पिटर ह्यान्ड्सकम्पले ४७ रन बनाए ।
पाकिस्तानका उस्मान सिनवारी, जानिद खान, यासिर साह,इमाद वासिम र हरिस सोहिलले समान एक एक विकेट लिए ।
दुई टोलीबीच चौथो एकदिवसीय शुक्रबार हुनेछ ।