एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडका डिफेन्डर लुकास हर्नान्डेजलाई क्लबमा अनुबन्धन गरेको छ । विश्वकप विजेता टोलीका मुख्य सदस्य रहेका हर्नान्डेजलाई बार्यनले कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन गरेको हो ।
क्लबले उनलाई पाँच बर्षकालागि ८० मिलियन युरोमा अनुबन्धन गरेको हो ।
२३ बर्षका हर्नान्डेजले सन् २०१८ को विश्वकप फुटबलमा फ्रान्सलाई उपाधि दिलाउन सहयोग गरेका थिए । उनी औपचारिक रुपमा आगामी जुलाई १ बाट बुन्डेसलिगा महारथी क्लबसंग जोडिनेछन् ।
क्लबको मेडिकलका अनुसार उनको दायाँ घुडाँको लिगाम्यान्ट च्याँतिएको छ । चोटको शल्यक्रिया आगामी बुधबार हुनेछ । ‘मेरो फुटबल करियरमा यो दिन निकै महत्वपुर्ण छ ।’ हर्नान्डेजले भनेका छन् ।
‘बार्यन म्युनिख युरोपको उत्कृष्ट क्लब मध्य एक हो । म गर्बका साथ उपाधिका सबै सम्भावनाका लागि संघर्ष गर्नेछु ।’ उनले थपे ।
हर्नान्डेज सेन्टर डिफेन्स र बाँया डिफेन्स दुवैबाट खेल्न सक्छन् । उनले ला लिगमा ६७ खेल खेलेका छन् । उनले युरोपा लिग र सुपर कप जितेका छन् ।
फ्रान्सबाट उनले १५ अन्तराष्ट्रिय म्याच खेलेका छन् । उनले विश्वकपका सबै खेल खेलेका थिए ।
‘हामी निकै खुसी छौ । विश्वका एक उत्कृष्ट डिफेन्डरलाई अनुबन्धन गर्न पाएका छौ । विश्व विजेता हर्नान्डेज विश्वकै उत्कृष्ट डिफेन्डर हुन् ।’ क्लबले भनेको छ ।