एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबलाई जितका लागि २१९ रनको फराकिलो लक्ष्य दिएको छ ।
कोलकातास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनायो । कोलकत्ताको फराकिलो स्कोरमा नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय इनिङ्स खेले ।
रोबिन ६७ रनमा अविजित रहदा नितिशले ६३ रनको योगदान दिए । यस्तै आन्द्रे रुसलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए ।
पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती,हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए ।
आज दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
दुवै टोलीले खेलमा सानदार जित निकाल्दै सुखद सुरुवात गरिसकेका छन् । दुवै टोली उक्त लयलाई कायम राख्ने योजनामा हुनेछन् ।
दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताले घरेलु मैदानमा भएको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।
रविचन्द्र आश्विनको कप्तानीमा पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।