काठमाडौं । महिला साफ च्याम्पियनसिपको उपविजेता टिम नेपालले ओलम्पिक छनोटको दोस्रो चरणको तयारी आज (बुधबार) बाट सुरु गर्ने भएको छ । महिला खेलाडीको अभ्यास ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
ओलम्पिक छनोटको दोस्रो चरणका लागि नेपाली टिमले ४ दिन मात्र अभ्यास गर्नेछ । लगत्तै नेपाली टिम प्रतियोगिता खेल्न म्यानमार प्रस्थान गर्ने कार्यक्रम रहेको मुख्य प्रशिक्षक हरी खड्काले बताएका छन् ।
‘तयारी छोटो छ । चार दिन अभ्यास गरेर हाम्रो छनोट खेल्न जानेछौँ ।’ उनले खेलपाटीसँग भने ।
उनले विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपमा सहभागी टिम सहित केहि नयाँ खेलाडीलाई पनि अभ्यासमा सहभागि गराउने बताएका छन् ।
‘समय छोटो छ । केहि खेलाडीलाई फेरि तयारीमा बोलाएको छु ।’ उनले भने ।
साफ लगत्तै एन्फाले महिला टिमलाई आराम गर्ने समय दिएको थियो ।
ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसंग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । नेपाल सम्मिलित समुहमा आयोजक म्यानमार सहित भारत र इन्डोनेशिया छन् ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमार, दोस्रो खेलमा भारत र अन्तिम खेलमा इन्डोनेशियाको सामना गर्नेछ ।
समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।