काठमाडौं । कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसंग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसंग २-० गोल अन्तरले पराजित भएको हो ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा अफगानिस्तानलाई जित दिलाउन सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरुवाती अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को जित दिलाए ।
अफगानिस्तानसंगको हारसंगै समूह 'ए' मा रहेको नेपाल जितविहीन बन्दै घर फर्किएको छ । नेपालले ३ खेलमा अंक जोडन सकेन र पुछारमा रहदै प्रतियोगिता सकाएको छ ।
अफगानिस्तान भने सान्त्वना जितसहित घर फर्किएको छ । अफगानिस्तानले ३ अंक जोड्यो ।
छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो खेलमा ओमानसंग १-० गोल अन्तरको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा कतारसंग ४-० ले पराजित भएको थियो ।
यस समूहबाट आयोजक कतार शीर्ष स्थानमा रहदै थाइल्याण्डमा अर्को बर्ष आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट भएको छ ।
मंगलबार ओमानसंग २-२ गोलको बराबरीमा रोकिएपनि कतार गोल अन्तरले शीर्ष स्थानमा रह्यो । कतारले ३ खेलमा ७ अंक जोड्यो । कतारसंग समान ७ अंक नै जोडेको ओमानको पनि उत्कृष्ट उपविजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने सम्भावना रहेको छ ।