काठमाडौं । कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले अहिले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल अफगानिस्तानसंग २-० ले पछाडी परेको छ । अफगानिस्तानका लागि सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरुवाती अग्रता दिलाए । खेलको ३३ औं मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को अग्रता दिलाए ।
अघिल्ला दुई खेलमा लगातार हार व्यहोर्दै छनोटबाट बाहिरिसकेको नेपालले सान्त्वना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । अफगानिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेल गुमाईसकेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ ।
छनोटको समूह 'ए' मा रहेको नेपाल पुछार र अफगानिस्तान तेस्रो स्थानमा रहेको छ ।
छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।
छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो खेलमा ओमानसंग १-० गोल अन्तरको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा कतारसंग ४-० ले पराजित भएको थियो ।