हेटौडा । थ्री स्टार क्लब हेटौडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–० ले पराजित गर्याे ।
हेटौडाको फोरेष्टि मैदानमा थ्री स्टारलाई जित दिलाउन मानसा र पिटर सेगुनले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा मानसाले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा सेगुनले गोल गर्दै थ्री स्टारको जित पक्का गरे ।
जितसंगै थ्री स्टारले सेमिफाइनमा क्यामरुनी क्लब दाउफिन्ससँगको भेट पक्का गरेको छ । दाउफिन्सले पहिलो पटक थ्रीस्टारसँग भिड्न लागेको हो ।
प्रतियोगिताको पहिलो सेमिफाइनमा बुधबार नेपाल पुलिस क्लबले आयोजक मकवानपुर-११ सँग खेल्नेछ ।
विजेताले ८ लाख पाउनेछन् । यस्तै उपविजेता टिमले ४ लाख पाउनेछ । यस्तै आयोजकले प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले ५० हजार पाउने जनाएको छ ।