काठमाडौं । भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ । मंगलबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीलाई ९ रनले पराजित गरेको हो ।
नेपालले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको आन्ध्र प्रदेश ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय २ सय १२ रनमा समेटियो । आन्ध्र प्रदेशका लागि नितेश कुमारले ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हर्षबरदानले ३६ रन जोड्दा दुर्गा कुमारले २५ रन जोडे । नेपालका लागि कुशल मल्ल, पवन सर्राफ र भिम सार्कीले समान २/२ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि कुशल मल्ल र राशिद खानले ८३ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो ।
यस्तै पवन सर्राफले ३२, कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले समान १८/१८ तथा रित गौतमले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोली भारतको आन्ध्र प्रदेश पुगेको हो । र, चार खेलको अभ्यास खेलमा नेपालले ३-१ ले जितेको छ ।
अप्रिल १० देखि २० सम्म आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
अभ्यास खेलको प्रदर्शन :
चार अभ्यास खेलमा नेपालका लागि ३ खेलाडीले सय रनको आँकडा पार गरेका छन् । सर्वाधिक रन कप्तान रोहित कुमार पौडेलले बनाएका छन् । ३ अभ्यास खेलमा २ अर्धशतकसहित कप्तान रोहितले सर्वाधिक १ सय ७४ बनाए ।
यस्तै कुशल मल्लले १०८ र पवन सर्राफले १०१ रन बनाउन सफल भए । बलिङतर्फ कमल सिंह ऐरी सफल रहे । उनले ३ खेलमा सर्वाधिक ८ विकेट हात पारेका छन् । यस्तै कुशल मल्लले र पवन सर्राफले समान ७/७ विकेट हात पार्न सफल रहे ।