काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजले कलेज क्रिकेट लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा कान्तिपुर सिटि कलेज (केसीसी) लाई १ सय ९ रनले पराजित गर्दै ट्रिटनले विजयी सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा ट्रिटनले दिएको १ सय ८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केसीसी १८ ओभर ५ बलमा अलआउट हुँदै ७८ रनमा समेटियो । केसीसीका लागि दिनेश आग्रीले १५ र विरेन्द्र बमले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
ओपनर रमेश भट्ट १, सन्तोष कुमार साह २ तथा दिपेन्द्र ऐरी १ रनमा आउट भए । केसीसीलाई सस्तैमा समेट्न ट्रिटनका विनोद भण्डारीले ३ विकेट लिए । यस्तै सुमित झाले २ तथा विक्रम सोब, जितेन्द्र यादव, अभिनाश अधिकारी र अरुण ऐरीले १/१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ट्रिटनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८७ रनको बिशाल स्कोर खडा गरेको थियो । ट्रिटनका लागि विनोद भण्डारीले शतकीय इनिङ्स खेले । विनोदले ६५ बलमा १ सय ४ रन बनाए ।
विनोदले आदील खानसंग पहिलो विकेटका लागि १ सय ५६ रनको साझेदारी गरेका थिए । आदीलले ३८ बलमा ६ चौका र १ छक्कासहित ५१ रन जोडे । केसीसीका लागि संजय यादव र सुवास क्षेत्रीले २/२ विकेट हात पारे ।
ओमेगा र त्रिभुवन विश्वविद्यालयबीच भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ ।
टस जितेर ब्याटिङ रोजेको ओमेगा ७.३ ओभरमा ४०-३ को स्थितिमा रहँदा खेल वर्षाले बिथोलेको थियो । दुवै टोलीले १-१ अंक बाँडेका छन् ।