काठमाडौं । भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण जारी छ ।
आईपीएल अन्तर्गत मंगलबार एक खेल हुँदैछ । जसमा दिल्ली क्यापिटल्सले साविकको विजेता चेन्नई सुपर किङ्ससंग प्रतिस्पर्धा गर्दैछ ।
आईपीएलमा दिल्लीको खेल भएसंगै नेपालमा बढी चर्चा हुने गर्छ । किनकी दिल्लीमा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् ।
दिल्लीको प्लेईङ सेटमा स्थान बनाएपनि नबनाएपनि सन्दीप चर्चाका रहने गर्छन । चेन्नईसंगको खेलअघि पनि सन्दीप पुन: चर्चाका पात्र बनेका छन् ।
पहिलो खेलमा दिल्लीको टोलीमा नपरेका सन्दीप दोस्रो खेलमा पर्छन या पर्दैनन् ? सबैको कौतुहलता रहेको छ ।
दिल्लीको घरेलु मैदान फिरोज कोट्ला क्रिकेट स्टेडियममा हुने चेन्नईसंगको खेल राति ८:१५ मा सुरु हुनेछ ।
गत संस्करणको आईपीएलबाट डेब्यु गरेका सन्दीपको चेन्नईविरुद्धको प्रदर्शन भने उच्च रहेको छ । गत सिजन दिल्लीले चेन्नईलाई पराजित गर्दा सन्दीपले मुख्य खेलाडीलाई पेभेलियन फर्काएका थिए ।
सन्दीपले गत सिजन चेन्नईविरुद्ध मैदान उत्रदै महेन्द्र सिंह धोनी, सुरेश रैना, रबिन्द्र जडेजा जस्ता हस्तीलाई बलिङ गरेका थिए । उनले क्रिकेट हस्तीविरुद्ध बलिङ मात्र गरेनन आफ्नो प्रदर्शनले टोलीलाई खेल जिताउन समेत सफल भए ।
सन्दीपले गत सिजन चेन्नईविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएका थिए । त्यतिमात्र हैन सन्दीपले आईपीएलका सर्वाधिक रन बनाउने खेलाडी सुरेश रैनालाई पेभेलियनको बाटो समेत देखाएका थिए ।
आफ्नो तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले पहिलो बल गुगली बलिङ गर्दै रैनालाई क्याच आउट पार्न सफल भए । रैना १५ रनमा आउट भएका थिए । खेलको टर्निङ पोइन्ट रहेको सन्दीपको उक्त विकेटसंगै दिल्लीले खेल ३४ रनले जितेको थियो ।
सन्दीपले गत सिजनको आईपीएलमा गरेको प्रदर्शन कै कारण विश्वका धेरै फ्रेन्चचाइज टी-ट्वान्टी लिगमा पाइला चाल्न सफल भएका थिए । नेपालका ग्लोबल आइकन सन्दीपले आईपीएलको डेब्यु सिजन ३ खेलमा ५ विकेट लिएका थिए ।
चेन्नईविरुद्ध मैदान उत्रदा सन्दीपको टिम दिल्ली अघिल्लो संस्करणको नतिजालाई कायम राख्ने योजनामा हुनेछ । तर, दिल्लीले सन्दीपलाई चेन्नईविरुद्ध विश्वास गर्छ या गर्दैन त्यो भने भन्न सकिने अवस्था छैन ।
किनकि पहिलो खेलमा शानदार जित निकालेको चेन्नईसंग टी-ट्वान्टी क्रिकेटका नामी खेलाडीहरुको साथ छ । धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईको टिममा शेन वाट्सन, सुरेश रैना, फाफ डु प्लेसिस, ड्यान ब्राभो, रबिन्द्र जडेजा, इमरान ताहिर र हर्बजन सिंह जस्ता खेलाडीहरु रहेका छन् ।