काठमाडौं । भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा आन्ध्र प्रदेशको यू-१९ टोलीलाई जितका लागि २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आन्ध्र प्रदेशविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनायो ।
खराब सुरुवात गरेको नेपालका लागि कुशल मल्ल र राशिद खानले ८३ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । कुशलले ४८ रन जोड्दा राशिदले ४१ रन जोडे ।
यस्तै पवन सर्राफले ३२, कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले समान १८/१८ तथा रित गौतमले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् । चार खेलको अभ्यास खेलमा नेपाल २-१ ले अगाडी रहेको छ ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।