काठमाडौं । मैत्रिपुर्ण फुटबल खेल्न कुवेत गएको नेपालको राष्ट्रिय फुटबल टिम आज (मंगलबार) स्वदेश फर्कदैछ । कुवेतमा दुई मैत्रिपुर्ण फुटबल खेलेको नेपाली टिम आज अपरान्ह नेपाल फर्कन लागेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले नेपाली टिम अपरान्ह ४ बजेर १० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने खेलपाटीलाई बताए ।
मुख्य प्रशिक्षकमा नियुक्त भएपछि योहान कालिन राष्ट्रिय फुटबल टिमलाई लिएर कुवेत खेल्न गएका हुन् । अधिकांश मुख्य खेलाडी एएफसी यु–२३ च्याम्पियनसिप छनोटमा भएकाले उपलब्ध खेलाडीलाई समावेश गर्दै उनी कुवेत लागेका थिए ।
उनले पहिलो खेलमा पाँच खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए । दोस्रो खेलमा फरवार्ड रवि पासवानले समेत डेब्युको अवसर पाएका थिए ।
उनले कुवेत भ्रमणलाई टिमको कमजोरी पत्ता लगाउने अवसरको रुपमा लिएको बताएका छन् ।
पहिलो खेलमा नेपालले गोल रहित बराबरी खेलेको थियो । जसमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
दोस्रो खेलमा भने नेपाल कुवेतले गरेको पेनाल्टी गोलमा पराजित भएको थियो ।
नेपाली फुटबललाई दक्षिण एसियाको महारथी बनाउने महत्वकाक्षी लक्ष्य सहित एन्फाले मुख्य प्रशिक्षकमा स्विडेनका कालिनलाई जिम्मेवारी दिएको हो ।
बराबरीसंगै प्रतियोगिताको सुरुवात गरेका कालिनले दोस्रो खेलमा भने पराजय भोगेका छन् ।