एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार एक खेल हुँदैछ ।
मंगलबार हुने खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र साबिकको बिजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ । दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुनेछ ।
फिरोज कोट्ला क्रिकेट स्टेडियममा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सुरुवाती खेल जितेका दुवै टोली आत्मविश्वासी समेत हुनेछन् ।
दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गरेको थियो । दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । तर, दिल्लीले सन्दीपलाई भने पहिलो खेल खेलाएको थियो ।
साबिकको बिजेता तथा बलियो टोली चेन्नईविरुद्ध सन्दीपले मैदान उत्रन पाउने सम्भावना निकै कम देखिएको छ । किनकि ब्याटिङ पिच र उत्कृष्ट खेलाडीले भरिएको चेन्नईविरुद्ध दिल्लीले सन्दीपको स्थानमा अनुभवी बलर राख्न सक्नेछन् ।
श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्लीलाई शिखर धवन, कोलिन इन्ग्राम,ऋषब पन्त, ट्रेन्ड बोल्ट, कागीसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई निकै बलियो टिम रहेको छ । पहिलो खेलमा बिराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै चेन्नईले उत्कृष्ट सुरुवात गरिसकेको छ । दिल्लीविरुद्ध चेन्नई उक्त लयलाई कायम राख्ने योजनामा हुनेछन् ।
चेन्नईको टिममा शेन वाट्सन, सुरेश रैना, फाफ डु प्लेसिस, ड्यान ब्राभो, रबिन्द्र जडेजा, इमरान ताहिर र हर्बजन सिंह जस्ता खेलाडीको साथ रहने छन् ।
पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । चेन्नईले पाँच खेलमा ३ जित निकाल्दा दिल्लीले २ खेलमा जित निकालेको छ ।