काठमाडौं । कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (मंगलबार) अफगानिस्तानको सामना गर्दैछ ।
अघिल्ला दुई खेलमा लगातार हार व्यहोर्दै छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसंग खेल्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको खेल बेलुका ९:४५ बजे सुरु हुनेछ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा नेपाल सान्त्वना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अफगानिस्तानलाई हराएर नेपाल छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।
तर, नेपालले अघिल्ला खेलको प्रदर्शनलाई दोहोर्याउनु हुँदैन । किनकि अफगानिस्तान नेपाल भन्दा निकै बलियो देखिएको छ ।
यस्तै अफगानिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेल गुमाईसकेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले नेपालविरुद्ध अफगानिस्तान अंक जोड्न चाहन्छ ।
छनोटको समूह 'ए' मा रहेको नेपाल पुछार र अफगानिस्तान तेस्रो स्थानमा रहेको छ । यस समूहमा ६ अंक जोडेको कतार शीर्ष र ६ अंक नै जोडेको ओमान दोस्रो स्थानमा रहेका छन् । र, दुवैले एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।
छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो खेलमा ओमानसंग १-० गोल अन्तरको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा कतारसंग ४-० ले पराजित भएको थियो ।