एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले लगातार दोस्रो पटक चाइना कप फुटबलको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा थाईल्याण्डलाई ४-० गोल अन्तरले पराजित गर्दै उरुग्वेले उपाधि रक्षा गरेको हो ।
चीनको गुवान्छि स्पोर्ट्स सेन्टरमा उरुग्वेलाई जित दिलाउन माटियास भेसिनो, गास्टोन पेरिरो, क्रिस्टियन स्टुवानी र म्याक्सीमिलानो गोमेजले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा भेसिनोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा पेरिरोले अग्रता दोब्बर बनाए ।
खेलको ५८ औं मिनेटमा स्टुवानीले गोल गर्दा उरुग्वेको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ८८ औं मिनेटमा गोमेजले गोल गर्दै ४-० को जितसहित उरुग्वेलाई उपाधि दिलाए ।
थाईल्याण्डविरुद्धको खेलसंगै डिएगो गोडिन उरुग्वेका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडी बनेका छन् । उरुग्वेका लागि १२६ खेल खेल्दै गोडिन सर्वाधिक क्याप खेल्ने खेलाडी बनेका हुन् ।
यसअघि सेमिफाइनलमा उरुग्वेले उज्बेकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो । थाईल्याण्डले आयोजक चीनलाई हराएको थियो ।
सोमबार नै भएको तेस्रो स्थानको खेलमा उज्बेकिस्तानले चीनलाई १-० ले हराएको छ ।