बाँके । नियमित तीन संस्करण चलेको राष्ट्रिय खेलकुद हुन छाड्यो । २०३८ सालमा काठमाडौंदेखि सुरु राष्ट्रिय खेलकुदको यात्रा पोखरा(२०४०) र वीरगञ्ज(२०४२) पछि ब्रेक लागेको थियो । स्थानीय(गाउँ पञ्चायत) निर्वाचनका कारण चौथो संस्करण(२०४४) निर्धारित समयमा हुन सकेन । २०४६ मा बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनले राष्ट्रिय खेलकुदलाई दिशा दिन सकेन । प्रजातन्त्र आयो, खेलकुद थप अन्योल बन्यो ।
वीरगञ्जपछि टुटेको राष्ट्रिय खेलकुदलाई व्युँताउने काम सहज थिएन । त्यसका लागि मध्यपश्चिमाञ्चलले ठूलै आँट गर्नुपरेको थियो ।
हरेक बर्ष छुटटछुट्टै राष्ट्रिय प्रतियोगिता कि बृहत् राष्ट्रिय खेलकुद गर्ने बहस भइरहन्थ्यो । राष्ट्रिय खेलकुद परिषद आफै द्विविधामा थियो । नेपालले आठौं दक्षिण एसियाली खेलकुदको जिम्मा लिएको थियो । त्यहीबेला चौथो संस्करण व्युँतियो ।
बृहत् राष्ट्रिय खेलकुदको चौथो संस्करण आयोजना गर्ने पालो मध्यपश्चिमाञ्चलकै थियो, चौथो राष्ट्रिय खेलकुद नेपालगन्ज रङ्गशालामा हुने भयो ।
वास्तवमा आठौं दक्षिण एशियाली महासंघीय खेलकुद (साफ)को तयारीकै क्रममा बृहत् खेलकुदको पुनर्जन्म भएको हो । आफ्नो मुलुकमा हुन लागेको आठौं साफ खेलकुदका लागि नेपाललाई राम्रो आन्तरिक तयारी र अभ्यास जरुरी थियो । सो तयारीका लागि कि त नेपालले साफमा राखिएका १२ खेलको छुट्टाछुट्टै प्रतियोगिता गराउनु पथ्र्याे वा सबै खेलको एक साथ आयोजना । राष्ट्रव्यापी रूपमा खेलाडी चयनको राम्रो वातावरण बृहत् खेलकुदमा मात्र सहज हुन्थ्यो । त्यसैले २०४२ सालदेखि अवरुद्ध बृहत् राष्ट्रिय खेलकुदले पुनः जीवन पायो । खेलाडीहरू हँसिमजाक पनि गर्थे, खेलकुद एक दशकसम्म सुतेर उठ्यो ।
भनिन्छ, १२ बर्षमा खोला फर्किन्छ, १३ बर्षपछि राष्ट्रिय खेलकुद फर्कियो । वीरगन्जपछि राष्ट्रिय खेलकुदको पालो नेपालगन्जले पायो, तर १३ बर्षपछि मात्र । त्यसबीचमा राजनीतिक शासन व्यवस्था पनि परिवर्तन भयो । २०४६ सालको जनआन्दोलन सफल भई प्रजातन्त्र पुनःस्थापना भयो । २०४७ सालमा संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थासहितको संविधान बन्यो । राजनीतिक उथलपुथलको असर भने नेपाली खेलकुदमा प¥यो । नेतृत्व फेरियो ।
त्यो बेला युवा तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्का थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव थिए, विनोदशङ्कर पालिखे । तर मध्यपश्चिममा चौथो खेलकुद सञ्चालन हुनुको मुख्य श्रेय रतन टण्डनलाई जान्छ । राखेप र नेपाल ओलम्पिक कमिटीका सदस्य रहेका टण्डनले सो प्रतियोगिताको सम्पूर्ण आवास तथा भोजन व्यवस्थाको जिम्मा लिएपछि चौथो राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा नेपालगन्जले पाएको थियो । खासमा उनकै पहलमा नेपालगन्जमा ऐतिहासिक चौथो बृहत् राष्ट्रिय खेलकुद सम्भव भएको थियो ।
चौथो राष्ट्रिय खेलकुदको संरचना भने पञ्चायतकालीन तीन वटा स्पर्धाभन्दा फरक थियो । तेस्रोसम्म अञ्चलगत प्रतिनिधित्व गराइन्थ्यो । तर, चौथोमा क्षेत्रगत आधारमा टोली बनाउने निर्णय गरियो । पाँच विकास क्षेत्रका पाँच टोली र विभागीय टोलीका रूपमा नेपाली सेना र नेपाल प्रहरी गरी सात समूहबीच प्रतिस्पर्धा हुने भयो । १४ अञ्चलबाटै खेलाडीको सहभागिता गराइने प्रतियोगिताको स्वरूप फेरिँदा केही कुरा राम्रै भए पनि खेलमा बृहत् सहभागिताका दृष्टिले अलि फिका भएको थियो । अञ्चल अञ्चलबीचको प्रतिस्पर्धाको फाइदा के थियो भने प्रतियोगिताका सहभागी धेरै भएकोले त्यसले आपसी प्रतिस्पर्धाको भावना जगाउँथ्यो । अञ्चलको समर्थनमा धेरै समर्थकहरू उर्लन्थे । यो कुरा क्षेत्रगत प्रतियोगितामा कम देखियो । अञ्चलभन्दा क्षेत्रको भौगोलिक आकार ठुलो र जिल्ला धेरै भए । त्यसले तुलनात्मक रूपमा कमै भावना जगाउने अग्रज खेलकर्मीको अनुभव छ । खेलाडी पनि कम, समर्थक पनि कम भए । त्यसैले उत्साह अघिल्ला बृहत् खेलकुद जस्तो देखिएन । तर लामो समयपछि प्रतियोगिता हुन लागेकाले खेलकुद जगत पुनः एकपटक जुर्मुराएको थियो ।
क्षेत्रगत खेलकु्दको फाइदा नवप्रतिभाशाली खेलाडीहरूले उठाए । अञ्चलगत खेल हुँदा जिल्लाका खेलाडीले त्यति मौका पाउन सकेका थिएनन् । अञ्चलले सिधै राम्राराम्रा खेलाडी भन्दै टिपेर टिम तयार गथ्र्यो । क्षेत्रगत छनोट हुँदा ७५ जिल्लामै छनोट खेल प्रतियोगिताहरू भए । ती स्पर्धाहरूले नवप्रतिभाहरू जन्मायो ।
त्यो बेला कभर्ड हलको सामान्य मर्मत सम्भार गरियो । एथलेटिक्स ट्रयाक(सुर्कीसहित) निर्माण भयो, पुर्वतर्फ प्यारापिट निर्माण केही बिस्तार गरियो । बसोबासको व्यवस्था गरिएका स्कूलका झ्यालढोकाको मर्मत र तारजाली लगाउने काम भयो । यी सबै गर्न भ्याईनभ्याई थियो, जसरी अहिले पनि आठौं राष्ट्रिय खेलकुदको तयारीमा भ्याइनभ्याइ छ ।
चाैथाे राष्ट्रिय खेलकुदमा अन्तर्राष्ट्रिय प्रतियोगिताको झल्को दिने गरी ओलम्पिक भिलेजजस्तै आवास तथा भोजनको व्यवस्था गरिएको थियो । त्यसका लागि टण्डन राइस मिलको मैदान छनोट गरिएको थियो । सबै टिमका खेलाडी र अफिसियललाई खानाको बन्दोबस्त त्यही टण्डन राइस मिल परिसरमा गरिएको थियो । लखनउबाट कालीगढ ल्याएर खाना तयार गराइएको थियो । ‘आवास तथा भोजनमा मेरो व्यक्तिगत ४० लाख रुपैयाँ खर्च भयो ।’ चौथो राष्ट्रिय खेलकुदका नायक रतन टण्डन सम्झन्छन्–‘मैले वाचा गरेको हुनाले कुनै कन्जुस्याईं हुन दिइन, नेपालगन्ज खेलमैत्री सहर रहेछ भन्ने सन्देश दिन सफल भयौं, त्यसैमा गर्व छ ।’ चौथोको सफलताले नेपालगन्ज खेलमैत्री सहरको परिचय स्थापित गर्न सफल भयो ।
अहिले फेरि नेपालगन्जले आठौंको अवसर पाएको छ, आठौं आयोजनाको पुर्वसन्ध्यामा छ । यसो हेर्दा सातौं संस्करणको समापनका दिनसम्म पोखराको दावी स्वभाविक थियो । उसले साढे तीन दशकपछि आयोजनाको अवसर पाउँदैथियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली थिए, उनी रुकुम निवासी हुन् । उनले आठौं र नवौंको सुनिश्चिता गराउने भन्दै आठौं मध्यपश्चिम र नवौं पश्चिमाञ्चल भेन्यु निर्णय गराउन सफल भए । राखेपका पदाधिकारीलाई बिश्वासमा लिंदै आठौं मध्यपश्चिमाञ्चलमा गराउने निर्णय गराइछाडे । उनको भित्री चाहना जे थियो । उनी आफ्नो मन्त्रीकालमा गृहक्षेत्रमा केही गर्न चाहन्थे । निर्धारित समयमै आठौं गर्नुपर्नेमा उनी दृढ छन् । अहिले कुनै जिम्मेवारीमा छैनन् । यद्यपी उनको सक्रियता र लगाव उत्तिकै छ । मिसन २०७५ पुरा गर्न उनी जोड दिइरहेका छन् ।
आठौं २०७५ सालभित्रै किन गर्ने ? निर्माणाधिन भौतिक पुर्वाधार संरचना स्थलगत अवलोकनमा आएका बेला मैले पुर्व मन्त्री श्रीपालीलाई सोधेंको थिएँ । उनको जवाफ थियो–‘सरकारले बोलेको कुरा पुरा गर्छ भन्ने सन्देश प्रवाह गर्न आठौं २०७५मै हुनुपर्छ, राज्यप्रति नागरिकको आशा र भरोसा बढाउने उपयुक्त समय हो यो ।’ पुर्वमन्त्रीले केही दिनअघि यस क्षेत्रका प्राय सबै भेन्यु अवलोकन गरी संघीय राजधानी काठमाडौं फर्किएका छन् ।
फेरिपनि भिन्दै संरचनामा बृहत राष्ट्रिय खेलकुद हुँदैछ । मुलुकले संघीयतामा प्रवेश गरिसकेपछि पहिलोपल्ट हुन लागेको राष्ट्रिय खेलकुदमा प्रदेशगत सहभागिता हुनेछ । अझ, विदेशमा रहेका नेपाली खेलाडीहरुले पनि सहभागिता जनाउन पाउने ढोका खोलिएको छ । अर्थात गैरआवासीय नेपाली संघ(एनआरएन)ले पनि भाग लिनेछ । यसहिसाबले सात प्रदेश, तीन विभागिय टिम र एनआरएन गरी ११ टिमले स्पर्धा गर्नेछन् । देशभरबाट करिब दश हजारको संख्यामा खेलाडी, प्रशिक्षक, प्राविधिक, खेल अधिकारी, खेलप्रेमीको जमघट हुनेछ । देशभरका पत्रकार नेपालगन्ज आउनेछन् ।
आठौं राष्ट्रिय खेलकुदले प्रदेश ५ अन्तर्गत नेपालगन्जसहित बाँके, बर्दिया, दाङ, रुपन्देही लगायत ठाउँमा सवा अर्ब रुपैयाँ भौतिक पुर्वाधार संरचना दिंदैछ । यो इतिहासमै ठुलो रकम हो, जुन हामीले पाएका छौं । एथलेटिक्स, फुटबल, क्रिकेट, पौडी लगायत खेलका अन्तर्राष्ट्रिय स्तरका भौतिक संरचना भावी सन्ततिका लागि अमुल्य उपहारका रुपमा रहने निश्चित छ । करिब पचास करोड रुपैयाँ खेल सञ्चालनका क्रममा लाग्नेछ । जुन रकम यहाँ खर्च हुनेछ । यसले यहाँको व्यापार व्यवसाय प्रवद्र्धन गर्नेछ ।
आठौंका बिषयलाई लिएर केहीले टिकाटिप्पणी पनि सुरु गरेका छन् । भौतिक पुर्वाधार पुरा नभइ खेल सुरु गर्नु कत्तिको उपयुक्त ? राखेप सदस्यसचिव केशवकुमार बिष्ट भन्छन्–‘भौतिक पुर्वाधार हिजोको जस्तो प्रक्रियामा भइरहेको छैन, कतिपय ठुला परियोजना बहुबर्षिय सम्झौतामा काम अघि बढेका छन् । यी काम पुरा हुने नै हो । तर, खेल प्रतियोगिता नियमित हुनुपर्छ, एउटा संस्कार बसाल्नु जरुरी छ ।’
प्रदेश नं. ५ को प्रशासनिक राजधानी बुटवल हो । यद्यपी आठौंका कारण नेपालगन्ज खेलकुदको राजधानी बन्दैछ । अत्याधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान, पौडी पोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्रयाक प्राप्त हुँदैछ । नजिकै जुडो हल, कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान, खजुरामा भलिबल स्टेडियम लगायत संरचना यहीं हुनेछन् । यति भयो भने नेपालगन्ज खेलकुदको राजधानी बन्ने तमाम आधार यिनै हुनेछन् । केही दिन अघि विराटनगरमा साफ च्याम्पियनसीप फुटबलका दौरान खेलाडीले होटलहरु फेरबदल गरेका समाचार आए । नेपालगन्जमा आतिथ्यताका हिसाबले तारे होटलको संख्या दर्जनको हाराहारीमा पुगिसकेका छन् ।
कम्तीमा अब नेपालगन्जले सगौरव भन्न सक्नेछ, –‘यस्ता साफ च्याम्पियनसीप फुटबल हामीलाई देउ, हामी गरेर देखाइदिन्छौं ।’ बाँकेको क्रिकेटले भन्न सक्ने आधार दिइसकेको छ । उसले पनि भन्ने समय आएको छ, हामी कोहलपुरमा क्रिकेट गरेर देखाउँछौं । भलिबलले त बर्षेनी प्रतियोगिताको स्तरोन्नति गर्दै अघि बढेकै छ । आठौंले खेल पर्यटनको पर्याप्त सम्भावनालाई उजागर गरिदिएको छ । यहाँको खेलकुद, उद्योगी व्यापारी र पर्यटन सम्बद्ध अगुवाहरु समन्वय गरी अघि बढेमा नेपालगन्जलाई जीवन्त राख्नसक्ने आधार तयार भइसकेका छन् ।
२०५५ सालमा यस्तो खाले बृहत् खेलकुद महोत्सव पहिलो पटक आयोजना हुँदै थियो । त्यसैले सबैतिर चनाखो बन्नुपर्ने स्थिति थियो । त्यसलाई अवसर र चुनौती दुवै थियो । किनभने प्रतियोगिताको सफलताले पश्चिम क्षेत्रमा खेल पूर्वाधार बृद्धि गर्ने बाटो खुल्ने थियो । नेपालगन्जले देशभर सन्देश प्रवाह गर्दथ्यो । बिहान सबेरै उठेदेखि मध्यरातसम्म नेपालगन्जका नयाँ पुराना खेलकर्मी खटनपटनमा व्यस्त रहन्थे ।
‘कहिले रङ्गशाला, कहिले टण्डन राइस मिल त कहिले बिभिन्न स्कूल पुग्दा दिन बितेको पत्तै हुन्थेन ।’ ओलम्पियन सुरेन्द्र हमाल सम्झन्छन् –‘विभिन्न खेलस्थलको तयारी, अनुगमन पनि त्यत्तिकै महत्वपूर्ण थियो । सबैले धेरै अपेक्षा गरेका थिए । किनकि, मैले आँटे परिपक्व ढङ्गले काम हुन्छ भन्ने साथीहरू ठान्थे । नगरको पूर्व उपमेयर र स्थानीय रूपमा बढी चिनिएकाले काम गर्न पनि सहज थियो । रतन दाइले बढी विश्वास गरेका सीमित व्यक्तिमा म पर्थें ।’
यतिबेला पनि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नंं. ५ का अध्यक्ष भिम ओलीलगायत खेलअधिकारीलाई भ्याइनभ्याइ छ । उनीहरु आठौं सभ्य र भब्य सफल पार्न कहींकतै कन्जुस्याईं नगर्ने कसम खाएर दृढसंकल्पका साथ अघि बढिरहेका छन् ।
युवराज दीपेन्द्र शाहको त्यस बेला निकै चर्चा थियो । खासगरी युवा वर्गमा उनी लोकप्रिय थिए । खेलाडीलाई उत्साह भर्न उनी बेलाबेला रङ्गशाला पुगेका समाचारले पनि देशभरिकै खेलाडीहरू उनलाई रुचाउँथे । नेपालगन्ज रङ्गशाला झकिझकाउ थियो । रङ्गशाला क्षेत्र दुलही घरझैं सजाइएको थियो । रङ्गशालाको मुख्य मञ्चमा मुख्य अतिथि उनै युवराज दीपेन्द्र थिए ।
‘चौथो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन भएको घोषणा गर्दछु’ युवराज दीपेन्द्रले २०५५ साल चैत ८ गते मध्यान्नमा प्रतियोगिताको उद्घाटन गरे । संयोगले आठौं खेलकुदको तिथि पनि चैत जुरेको छ । धन्न चैत ८ गते उदघाटन हुने समय भएन । सम्भवतः सबैको चासो बनेको भिआइपी प्यारापिट समयमै नआइसकेको हुँदा आठौंले चैतको अन्तिम साता पर्खनुपर्नेछ । राष्ट्रपतिले उदघाटन र उपराष्ट्रपतिले समापन गर्ने राष्ट्रिय खेलकुदको आठौं संस्करण ऐतिहासिक हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भिम ओली दाबी गर्छन् ।
रंगशालाको स्तरोन्नति अनपेक्षित भइसक्दा पनि भिआइपी प्यारापिटकै कारण आठौंको तिथि तय भइसकेको छैन । यद्यपी आठौंको कार्यकारिणी समितिले चैत २५ देखि ३० प्रस्ताव गर्ने निर्णय गरिसकेको छ । यो मितिमै गर्दा नेपाल सरकारको नाक ठाडो हुने हो । दुई तिहाइको सरकारबाट नागरिकले धेरै अपेक्षा गरेका थिए । यो एक बर्षमा उत्साहजनक काम र परिणाम हात परेका छैनन् । तसर्थ आठौं २०७५ मै हुदा सरकारले बोलेको पुरा गर्छ भन्ने सन्देश जानेछ ।
यसअघि २०५५ मा भएको चौथो राष्ट्रिय खेलकुदमा १२ खेल मात्र समावेश थिए । एक हजार ६ सय ३२ खेलाडीले भाग लिएका थिए । अहिले ३५ खेलमा करिब सात हजार खेलाडी स्पर्धामा उत्रदैछन् । बृहत् राष्ट्रिय खेलकुद भनिए पनि चौथो संस्करणलाई साग खेलकुदको छनोट चरणका रूपमा खेलाइएको थियो । संयोग आठौं संस्करण पनि १३ औं सागको छनोटकै लागि लिइएको छ ।
स्थानीय निकाय र सर्वसाधारणको ठूलो उत्साह तथा सहयोग रहेको प्रतियोगिता अघिल्ला स्पर्धाभन्दा भव्य भएको थियो । नेपालगन्जमा भर्खर गर्मी सुरु हुँदै थियो । अहिले पनि गर्मीले संकेत गरिसकेको छ । त्यसै त यो पुरानो सहरका आफ्ना मौलिक विशेषतामध्ये गर्मी यो सहरको परिचय हो । हिउँ र डिजर्ट सफारी आकर्षण हुन सक्छ भने हामीले पनि गर्मीलाई बेग्लै आकर्षणका रुपमा स्थापित गर्न सकिन्छ । तर विकास र समृद्धिले नै गर्मी बिर्साउने र आकर्षण बढाउने दुवै हुनसक्छ । यसतर्फ पनि अब सम्बद्धले ध्यान दिनुपर्ने बेला आएको छ ।
चौथो राष्ट्रिय खेलकुदका बेला धर्मशाला, स्कूल र सानाठूला होटलले खेलाडी, प्रशिक्षक र पाहुनाको सत्कार गरे । अहिलेजस्तो होटलहरू त्यो बेला थिएनन् । अहिले त तारे होटलकै संख्या दर्जनको हाराहारीमा छन् । आतिथ्यता दिन नेपालगन्ज तयार छ ।
त्यतिबेला गर्मी र लामखुट्टेबाहेक खासै व्यवस्थापकीय गुनासाहरू आएनन् । खेलाडीले ती सबै कठिनाइलाई स्वीकारे । खेले र राम्रो नतिजा दिए । त्यसैको परिणामस्वरूप लगत्तै भएको आठौं सागमा नेपालले ३२ स्वर्ण पदक जित्यो ।
प्रतियोगिता साफको रिहर्सल जस्तै गरी खेलाइयो । व्यवस्थापन पनि त्यसै गरी उपसमिति बनाएर गरिएको थियो । सबै उपसमितिले राम्रो गरे । प्रचारप्रसार व्यवस्था पनि उत्कृष्ट थियो । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका पत्रपत्रिकाहरू, नेपाल टेलिभिजन र रेडियो नेपालका समाचारहरू खेलमय थिए । अहिलेजस्तो निजी क्षेत्र र सामुदायिक स्तरका एफएम तथा टेलिभिजन हुँदो हो त झन कति गुन्जिन्थे होला । खानाको व्यवस्था ओलम्पिक भिलेजमा जस्तै एकै ठाउँमा गरिएको थियो ।
चैत १४ गते प्रतियोगिताको समापन गर्दै युवा तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्काले भव्य आयोजनाका लागि नेपालगन्जबासीलाई बधाई दिएका थिए । अहिले पनि नेपालगन्जको एउटा चिनारी निजी पहलमा चौथो बृहत् राष्ट्रिय खेलकुद सफल पार्ने शहरका रूपमा छ ।
अब यतिबेला फेरि नेपालगन्जको काँधमा ठुलो जिम्मेवारी आएको छ । अझ प्रदेश नं. ५ को काँधमा जिम्मेवारी आएको छ । प्रदेश सरकार, स्थानीय सरकार पनि चनाखो बन्नुपर्ने अवस्था छ । किनकी यहाँको सफलताको सन्देश अन्य प्रदेशहरुमा पनि प्रवाह हुने हो । जुन ठाउँमा खेल गतिविधि हुनेछन्, त्यहाँको स्थानीय सरकाले अपनत्व ग्रहण गर्न सकेन भने त्यसको असर निकट भविष्यमै देखिने पक्का छ ।