काठमाडौं । नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसंग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो ।
अल शबब स्टेडियममा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा नासिरले पेनाल्टीमा गोल गर्दै कुवेतलाई जित दिलाए । सुजल श्रेष्ठले पेनाल्टी क्षेत्रमा घरेलु टोलीका खेलाडीलाई लडाएपछि कुवेतले पेनाल्टी पाएको थियो ।
यसअघि पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । तर, नेपालले दोस्रो खेलमा बलियो टोली कुवेतलाई रोक्न सकेन ।
योसंगै मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । हालै मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनको नेतृत्वमा नेपाल कुवेत भ्रमणमा गएको थियो ।
तर, कुवेत भ्रमणमा नेपाली टोलीका मुख्य ६ युवा खेलाडी भने थिएनन । विमल घर्ति मगर, अन्जन बिष्ट, अनन्त तामाङ, सुनिल बल लगायतका टोलीका नियमित सदस्य एएफसी यू-२३ छनोटका लागि कतारमा रहेका छन् ।
मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा तीन स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।